नेपालगञ्ज ।
पछिल्लो २४ घण्टामा शुक्रवार बाँकेमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा ७ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो । तीनै प्रयोगशालामा गरिएको १ सय ३७ नमुना परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएकोमा बाँकेका १२ जना रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ३ महिला र ४ पुरुष गरेर ७ जना तथा मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा ४ महिला र १ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ७९ जना पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । उनका अनुसार शुक्रवार २ महिला र १ पुरुष गरेर थप तीन जना कोरोना जितेर घर फर्किएका थिए ।
जिल्लामा अहिलेसम्म ७ हजार ४ सय ३० महिला र ९ हजार ९ सय ८४ पुरुष गरेर १७ हजार ४ सय १४ जनाले कोरोना जितिसकेका छन् । शुक्रवारसम्म बाँकेमा जिल्लाभित्रका १८३ र बाहिरी जिल्लाका ३८ गरेर सक्रिय संक्रमितहरु २२१ जना रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । तीमध्ये ५७ जना अस्पताल र १६४ जना होम आइसोलेसनमा रहेका थिए ।
भेरीमा २ संक्रमितको मृत्यु
भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका सुर्खेत र कैलालीका कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोडिभ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन ओलीका अनुसार सुर्खेतका ३९ वर्षीय पुरुष र कैलालीका २८ वर्षीय पुरुषको भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । साउन १७ गते सुर्खेतमा पीसीआर गरेका गुर्वाकोट नगरपालिका–५ का ३९ वर्षीय पुरुषलाई साउन २० भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा शुक्रवार दिउँसो १.२० बजे मृत्यु भएको हो । टीकापुर नगरपालिका–१, कैलालीका २८ वर्षीय पुरुषलाई भदौ १ गते भेरीमा भर्ना गरिएको थियो । उनको भोलिपल्ट पीसीआर गरिएको थियो । उनको शुक्रवार बिहान ८.३० बजे मृत्यु भएको फोकल पर्सन ओलीले बताए । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या तीन सय ९० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्