कोभिड– १९ रोकथाम तथा नियन्त्रणको पूर्वतयारी तीव्र



कोहलपुर बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ मा कोभिड –१९ को तेस्रो लहरको पूर्वतयारीको काम भइरहेको छ । केहीदिन सर्वपक्षीय बैठक बसी कोरोना रोकथाम तथा नियन्त्रणको लागि टोल टोलमा स्वयम्सेवक परिचालन गर्ने निर्णय गरिएको थियो । मंगलबार कोहलपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कोहलपुर–११ र कोहलपुर स्वास्थ्य चौकीको आयोजनामा स्वयम्सेवक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

स्वास्थ्य चौकीका प्रमुख प्रकाशजंग हमालले टोल टोलमा खटिने स्वयम्सेवकहरुलाई कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण गराइएको जानकारी दिए । उनका अनुसार उनीहरुलाई टोल टोलमा स्थानीयहरुलाई दिने जानकारीका विषयमा अभिमुखीकरण गराइएको हो ।

कोहलपुर वडा नम्बर ११ मा जम्मा २० टोल रहेका छन् । प्रत्येक वडाबाट तीन जनाका दरले स्वयम्सेवक परिचालन गरिने भएको छ । प्रत्येक टोलबाट स्वयम्सेवकहरुको छनौट गरेर अभिमुखीकरण गराइएको वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाले बताए । अब उनीहरु कार्यक्षेत्रमा खटिनेछन् ।

उनले महिला र पुरुष गरेर कुल ६० जनाको संख्यामा स्वयम्सेवक परिचालन गरिएको जानकारी दिए । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले कोहलपुर नगरपालिकामा सक्रिय संक्रमितको संख्या बढ्दै गइरहेको भन्दै त्यस विरुद्ध शसक्त रुपमा लाग्नुपर्ने बताएका थिए ।

उनका अनुसार कोभिड –१९ को संक्रमण रोक्नको लागि सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको छ । अब स्वयम सेवकहरुलाई वडा नम्बर ११ का टोल टोलमा परिचान गरिनेछ । मंगलबार सम्मको तथ्यांक अनुसार कोहलपुर नगरपालिका ८२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । अभिमुखीकरण पश्चात कोहलपुर नगरपालिका हुँदै चौराहा र न्युरोड लगायतका क्षेत्रमा जनचेतनामुलक ¥याली निकालिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २ गते बुधबार