शिवु खनाल । दाङ ।
देउखुरी क्षेत्रका अधिकांश युवाहरु पछिल्लो समय पढाई छाडेर ज्याला मजदुरी गर्न छिमेकी राष्ट्र भारत तथा अन्य विदेशी मुलुकमा रोजगारी खोज्दै जाने गरेको भेटिन्छन् । युवाहरु अहिले पढाई सकेर जिल्लामा नै रोजगारी पाउन नसकेपछि रोजगारीको खोज्न जिल्ला बाहिर जानु पर्ने बाध्यता नै हुने गरेको छ ।
तर विदेशमा गएर काम गर्नुभन्दा आफ्नै देशमा केही लगानी गरेर केही गर्न सकिन्छ भनेर केही युवाहरु भने स्वदेशमै व्यवसाय मनग्य आम्दानी गर्न सफल बनेका छन् । स्वदेशमा सानो दुखले पनि परिवारका साथ धेरै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणको पात्र बनेका छन् दाङ राजपुर गाउँपालिका वडा नम्बर २ मटेरीयाका खड्क परियार ।
परियार दुर्गम गाँउको एक सामान्य दलित परिवारमा जन्मेका एक युवा हुन् । २०१२ मा करिब ६ वर्ष कतारमा वैदेशिक जिवन बिताए । परियारले स्वदेशमा आएर चन्द्र पशुपन्छि फर्म संचालन गरेका छन् । विदेशबाट फर्किएर ऋण खोजेर स्वदेशमा व्यवसायी सुरु गरेका उनले पछिल्लो समयमा बंगुरको मासु अत्याधिक मात्रामा विक्रि हुने भएपछि बंगुर पालन व्यवसायनै रोजेको बताए । ‘९ लाख बढी रकम बंगुरपालन व्यवसाय गर्न खर्च गरेका थिए’ उनले भने, ‘सुरुमा फर्म संचालन गर्दा ६ वटा बंगुर पालेर व्यवसायको सुरुवात गरेका थिए ।
केही गर्न केही गुमाउनु पर्छ भन्ने मनमा धारणा उब्जेको थियो । आफुले गरेको व्यवसायबाट अन्य युवाले पनि स्वदेशमै बसेर केही गर्न सकुन भन्ने मान्यता राख्दै आएको छु ।’ परियारको फार्ममा अहिले ठूला साना गरी ३६ वटा बंगुर रहेका छन् । विदेशमा भन्दा स्वदेशमै लगानी गरेर मनग्य आम्दानी गर्न सकिने सम्भावना बोकेर परियाले बंगुरपालन फर्म खोलेको बताउँछन् । अहिले बंगुरको एउटा पाठालाई पाँच हजारमा विक्रि गरेरै आम्दानी गर्ने गरेको उनले जानकारी दिए । यही व्यवसायबाटै उनको परिवारको गुजरा सहजै चलाउन सकेका छन् । थोरै समयमा धेरै मनग्य आम्दानी हुने गरेका कारण पनि यस क्षेत्रका कतिपय युवाहरु बंगुरपालन लगायत अन्य व्यवसायमा दिनप्रतिदिन आर्कषित हुँदै गएका देखिन्छन् ।
खोर निर्माणको लागि अनुदान
कोरोना भाइरस (कोभिड १९)ले प्रभावित भएका कृषक र भर्खरै व्यवसायमा संलग्न भएका कृषकलाई पहिचान गरि अनुदान दिने व्यवस्था गरिएको छ । अति विपन्न कृषक, भर्खरै रोजगारमा लागेका, कोरोनाले प्रभावित कृषक र कोभिडको कारण विदेशमा रोजगार गुमाई स्वदेशमै व्यवसायी सुरुवात गरेका कृषकहरुको पहिचान गरि त्यस्ता कृषकलाई मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत अनुदान वितरण गर्दैै आएको मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम राजपुरका संयोजक गिरीराज भट्टले बताए । जसअन्र्तगत विदेशबाट फर्किएर स्वदेशमा बंगुरपालन गर्दै आएका परियारले पचास हजार अनुदान पाएका हुन् । उत्पादनमा वृद्धि हुदै गर्दा र बंगुर पालनमा साँघुरो हुन थालेपछि परियारलाई मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत बंगुरको खोर निर्माणको लागि पचास हजार अनुदान वितरण गरिएको कार्यक्रम संयोजक भट्ट बताउँछन् । ‘दोस्रो वर्ष बंगुरले ५१ वटा पाठापाठि निकाल्यो तर, खोर व्यवस्थापन गर्न गाह्रो भयो । थप बंगुरको खोर निर्माणको लागि आफुले पाएको रकमबामट थप नयाँ खोर निर्माण गरेर अन्य बंगुरका पाठापाठीलाई व्यवस्थापन गरिएको छ’ परियारले भने ।
प्रतिक्रिया दिनुहोस्