देशभर थपिए २,६२४ संक्रमित, पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु



कोहलपुर ।

देशभर पछिल्लो २४ घण्टामा शनिवार थप २ हजार ६२४ जनामा कोरोना संक्रमित थपिएका छन् । ८ हजार ६६७ पीसीआर परीक्षणमा १ हजार ९४७ र ४ हजार ९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ३० हजार ४७९ जना पुगेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर उपचारकै क्रममा थप २० जनाको मृत्यु भएको थियो ।

हालसम्म नेपालका कोरोना संक्रमणका कारण १० हजार २५९ जनाको मृत्यु भइसकेको छ । शनिवार देशभर कोरोना जितेर थप १ हजार ३२० जना आफ्नो घर फर्किएका थिए । योसँगै अहिलेसम्म कोरोना जितेर घर फर्किनेहरुको संख्या ६ लाख ८० हजार ८१५ जना पुगेको छ ।

शनिवारसम्म देशभर कोरोना भाइरस सक्रिय संक्रमित संख्या ३९ हजार ४०५ जना रहेको थियो । जसमध्ये ३६ हजार २ जना होम आइसोलेसनमा र ३४०३ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संस्थागत आइसोलेसनमा रहेकामध्ये ७६० जना सघन उपचार कक्षमा र तीमध्ये १८६ जना भेन्टिलेटरको सहायताले उपचार गराइरहेका थिए । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९५ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये काठमाडौंमा ५३५, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना रहेका छन् ।

त्यस्तै कास्कीमा २१३, चितवनमा १४३, झापामा १०३, मोरङमा ९४, मकवानपुरमा ४७, कैलालीमा ४५, सुनसरीमा ४२, रुपन्देहीमा ४०, सुर्खेतमा ३७, दाङमा ३१, नवलपरासी पूर्वमा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतबार