लुम्बिनी प्रदेशसभाको अधिवेशन बोलाइयो



कोहलपुर ।

लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गते आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते मंगलवार दिउँसो १ बजे अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको सूचनामा प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको उल्लेख छ ।

यसअघिको सरकारले असार ३१ गते राति अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थियो । त्यसपछि चार दलले तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमागि छलफलका लागि विशेष अधिवेशन माग गरेका थिए । तर अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुनुअघि नै पोखरेलले राजीनामा दिएका थिए ।

हाल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भइसकेका छन् । केसीले प्रदेश सभाबाट विश्वासको मत लिने सम्भावना रहेको नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा सदस्य इन्द्रजीत चौधरीले जानकारी दिए । ‘भदौ १ गते वा २ गतेसम्म विश्वासको मत लिने भन्ने तयारी भइरहेको छ,’ चौधरीले भने । मुख्यमन्त्री केसीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतबार