छात्रा कलेज सञ्चालन गर्नका लागि समिति



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा सञ्चालन गर्न लागिएको छात्रा कलेज सञ्चालनका लागि सञ्चालक समिति गठन गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकामा शनिवार आयोजित एक कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले सञ्चालक समितिका अध्यक्ष विजय गुप्ता लगायत समितिका पदाधिकारी र सल्लाहकार समितिका सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गरेका थिए ।

मधेसी आयोगका सदस्य समेत रहेका गुप्ता अध्यक्ष रहेको ११ सदस्यीय सञ्चालक समितिको सदस्यहरुमा रविन्द्र कर्ण, अनिता शाह, मैमूना सिद्धिकी, नमस्कार शाह, कौसलकुमार धोवी, मोहम्मद खालिद ईकवाल ईराकी, चन्द्रशेखर पाण्डे, दीपाली टण्डन गुप्ता रहेका छन् । समितिको सदस्य सचिव क्याम्पस प्रमुख र शिक्षा महाशाखाबाट पनि समितिमा प्रतिनिधित्व हुनेछ ।

यसैगरी नगर प्रमुख राणाको संयोजकत्वमा डाक्टर एम किदवाई, डाक्टर कौशलकुमार वर्मा, परवेज अली सिद्धिकी र सशी स्वार रहेको सल्लाहकार समिति गठन गरिएको छ । उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा अनूगमन समिति गठन भएको छ । सो अवसरमा नगर प्रमुख राणाले महिला कलेज सञ्चालनका लागि भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिदँै उपमहानगरपालिकाको परियोजना भएपनि यसको सञ्चालन उपमहानगरपालिकाको प्रत्यक्ष नियन्त्रण भन्दा स्वायत्त होस् भन्ने चाहना आफुहरुको रहेको बताएका थिए । नेपालगञ्जमा रहेका मधेसी र मुस्लिम समुदायका छात्राहरुका लागि मुख्य लक्षित गरि कलेज स्थापना गर्न लागिएको हो ।

त्यसको लागि नेपालगञ्ज उपमहानगरपालिकाले मंगलप्रसाद उच्च माविमा कलेज स्थापनाका लागि ४० कोठे भवन तयार पारिसकेको छ । कार्यक्रममा बोल्दै नगर उपप्रमुख थापा मगरले समाजमा पछाडी परेका समुदायका छात्राहरुलाई उच्च शिक्षामा प्रवेशका लागि कलेज सञ्चालन गर्न लागिएको राजनीतिक प्रभाव विना निष्पक्ष भएर काम गर्न आग्रह गरेकी थिइन् । यस शैक्षिक सत्रदेखि बिएससी सिएसआईटी र विएड कक्षा सञ्चालन अनुमतिका लागि केही दिनमै प्रस्तावनापत्र मध्यपश्चिम विश्व विद्यालयमा पेश गरिने नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख वहादुर थापाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतबार