‘सहमतीको नाममा सधैं अल्झिरहन सकिन्न’



नेपालगञ्ज ।

नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोखरेलले सहमतीको नाममा सधैं अल्झिरहन नसकिने बताएका छन् । पार्टीभित्रको विवादतर्फ संकेत गर्र्दै उनले अब सधैं सहमतीको नाममा अल्झिरहन सम्भव नहुने बताउँदै पार्टी अगाडि बढिसकेको बताए ।

शनिवार बाँकेको नेपालगञ्जमा नेकपा एमाले जिल्ला कमिटि बाँकेको १७ औं पूर्ण बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटि सदस्य पोखरेलले विवादकै बीच पार्टी अगाडि बढिसकेको संकेत दिएका हुन् । सहमतीको नाममा अनन्तकालसम्म अल्झिरहन सम्भव नभएको उनले बताए ।

‘अब सहमतीको नाममा अनन्तकालसम्म अल्झिरहन सम्भव छैन’ एमालेको असन्तुष्ट समूहततर्फ संकेत गर्दै उनले भने, ‘हामीले यही कुरालाई ध्यानमा राखेर पार्टीका गतिविधिहरु अगाडि बढाइसकेका छौं ।’अहिले एमाले भित्र माधव कुमार नेपाल लगायतका नेताहरु अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली प्रति असन्तुष्ट रहेका छन् । पटक–पटक विवाद समाधानको लागि वार्ता भएपनि कुनै सहमती हुन नसकिरहेको बेला अध्यक्ष ओलीका विश्वासपात्र मानिने पोखरेलले अब धेरै कुर्न नसकिने संकेत गरेका हुन् ।

स्थानीय कमिटि सदस्य पोखरेलले ओली नेतृत्वमा रहेको पार्टी नै आधिकारीक भएकाले संगठन विस्तार र पार्टी इकाईहरुलाई चुस्त दुरुस्त गराउन निर्देशन समेत दिए । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले असन्तुष्ट समूहरुलाई १० बुँदे सहमतिका आधारमा फर्किएर पार्टी काममा लाग्न समेत आग्रह गरे । एमाले असन्तुष्ट समूहले संसद जोगाउनलाई ह्रीप उल्लंघन गरेको बताइरहेका बेला उनले संसद जोगाउने नाममा पार्टीका केही नेताहरुले असंसदीय अभ्यास गरेर जनादेश र बामपन्थी विरोधी काम गरेको आरोप लगाए ।

‘पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएको भए त संसद जोगिहाल्थ्यो नी । आफ्नै पार्टीको सरकार पनि जोगिन्थ्यो’ उनले आक्रोश हुँदै भने, ‘त्यसकारण संसद जोगाउन ह्रीप उल्लघंन गरेको भन्ने भनाईमा कुनै सत्यता छैन ।’ केपि शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा र जनपक्षिय कामबाट आत्तिएकाहरुले देशमा राजनैतिक अस्थिरता ल्याएको उनले पोखरेलले दाबी गरे । एमाले नेतृत्वमा निर्माण भएका संघ र प्रदेशका सरकारले जनताका पक्षमा काम गरिरहेको देखेर सरकारलाई चौतर्फि आक्रमण भएको उनले बताएका हुन् ।

यस्तै नेकपा एमाले जिल्ला कमिटि बाँकेका अध्यक्ष सूर्य ढकालको अध्यक्षतामा सम्पन्न भएको बैठकले विभिन्न निर्णयहरु गरेको छ । विभिन्न छ वटा समूहगत रुपमा छलफल गरी बैठकले विभिन्न निर्णयहरु गरेको हो । शनिवार नै सम्पन्न भएको बैठकले संगठित सदस्यता नविकरण, पार्टी प्रवेश कार्यक्रमलाई तिव्रता, पार्टीका विभिन्न तहका कमिटिहरु गठन गर्ने लगायतका निर्णयहरु गरेको अध्यक्ष ढकालले मिसन टुडेलाई जानकारी दिए । बैठकमा एमाले भित्रको असन्तुष्ट समूहका नेता कार्यकर्ताहरु भने उपस्थिती भएका थिएनन् ।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतबार