शुभाकर विश्वकर्मा, कोहलपुर
नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी राजनीतिक दल नभएको टिप्पणी गरेका छन् । उनले अहिले देशभर तीन तहमा सरकारमा स्वतन्त्र समूहको हैसियतमा रहेको राप्रपा पार्टी नभइ राजनीतिक समूह भएको टिप्पणी गरेका
हुन् । शनिबार बाँकेको कोहलपुरमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेश स्तरीय नगर अध्यक्षहरूको बैंठकलाई सम्बोधन गर्दै प्रमुख राणाले राप्रपा पार्टी नभइ राजनीतिक समूह मात्रै भएको बताएका थिए । वास्तविक रुपमा पार्टी बनाउनको लागि पार्टीमा आमूल परिवर्तनको आवश्यकता रहेको उनले बताएका थिए ।
‘ठूलो कुरा ग¥या छ । २ सय भोट पाउने अवस्था छैन ।सात सयमा जम्मा तीन वटा छौँ हामी ।’ राप्रपाका नेता समेत रहेका राणाले भने,‘अहिले यो अवस्थामा छौ हामी । यसको कारण पनि हामी नै हौँ । हामी कार्यकर्ता कहिले बनेनौँ । नेताका दास बन्यौ दास ।’ प्रतिनिधि सभामा राप्रपाको चुनाव चिन्हबाट निर्वाचन जितेका राजेन्द्र लिङदेल स्वतन्त्र सांसदको हैसियतमा छन् । देशभरका स्थानीय तहमा राणा मात्रै नेपालगञ्जको प्रमुखका रुपमा रहेका छन् । उनले ९ पटक सम्म फुटेर पनि जुटेको राप्रपा अहिले कै अवस्थामा अघि बढे मुलधारको पार्टी बन्ने सम्भावना नरहेको समेत बताए । राप्रपा अस्तित्व रक्षाको अवस्थामा पुग्नुको पछाडि नेताका दास भन्ने कार्यकर्ता र नेता नै दोषी रहेको आरोप लगाएका छन् ।
‘राजा सहितको प्रजातन्त्र’ भन्ने पार्टीको मूल राजनीतिक विचार धारा प्रति उनले असन्तुष्टि पोखे । अहिले पार्टीका नेताहरुले राजसंस्थाको मुद्दा बलियो बन्दै गएको बताउने गरेपनि यर्थात धेरै टाढा रहेको उनको भनाइ थियो । उनी भन्छन्, ‘जनताको हाम्रो मुद्दा मन पराएको भए पार्टीको हालत यस्तो हुन्थ्यो । पार्टीले आमूल परिवर्तन चाहेको छ । पहिला भताभुंग भएको चार तीर फर्केको घर ‐पार्टी) बनाउ । त्यसपछि देश, राजतन्त्र र हिन्दुराज्यतिर जाउला ।’
उक्त अवसरमा उनले अहिले राप्रपालाई देशभर बलियो शक्ति बनाउन आवश्यक रहेको समेत औल्याएका छन् । सबै जना एकजुट अघि बढेमा भोली जनता आफैमा पार्टीमा आउने उनको धारणा थियो । राप्रपा ठूलो पार्टी बन्नको लागि आमूल परिवर्तन आवश्यक रहेको उनको कथन छ ।
यस्तै उनले पार्टीको महाधिबेशन नजिकिदै गएको भन्दै त्यो पार्टीलाई सुधार गर्ने,नेतृत्व परिवर्तन गर्ने र सुधार ल्याउने सुनौलो अवसर भएको बताए । देशभरीका राजावादीहरुलाई एउटै मार्गमा ल्याउन ढिलाइ गर्न नहुने उनको मत थियो । पार्टी भित्र युवा वर्गको नेतृत्वको बहस गरिरहेका उनले उक्त अवसरमा पनि यो मुद्दालाई उठाए । राणा भने,‘अब पार्टीमा युवा नेतृत्वमा आउनुपर्छ । नेताहरु अभिभावकीय भूमिकामा रहेर सहयोग गर्नुपर्छ । पार्टीको युवा वर्ग अहिलेको नेतृत्व स्वीकार गर्न तयार छैन । विकल्प खोजिरहेको छ ।’
यस्तै स्थानीय तहको चुनाव पनि आएकोले अहिले अवस्थाबाट माथि उठ्नको लागि उम्मेदवार छनौट गर्दा समाजमा प्रतिष्ठित, पढेलेखेको, काम गर्न सक्ने र जुझारु व्यक्तिलाई ल्याउनुपर्ने माग उनले गरे । पार्टी महाधिबेशनमा भने युवाहरुको नेतृत्व प्रदान गर्न सबैको सहयोग आवश्यक रहेकोमा उनले जोड दिएका छन् । नभएर एक्लै भएपनि आफू अघि बढ्ने निर्णय गरिसकेको उनको भनाइ थियो ।
उक्त अवसरमा बोल्दै राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले पार्टीलाई चलायमान बनाउनको लागि प्रदेश अध्यक्षहरुको बैठकको आयोजना गरिएको भन्दै अब महाधिबेशन र स्थााीय तहको निर्वाचन केन्द्रीत गतिविधि अघि बढाउन सबैलाई निर्देशन दिएका थिए । उक्त बैठकमा लुम्बिनी प्रदेश जिल्लाका पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्