नेपालगञ्ज ।
बाँके नेपालगञ्जकी एघार वर्षीया ललिता बैश्यले एउटा ठूलो कचौरामा साना–साना गुडिया (पुतली) बनाएर ल्याएकी थिइन् । बेसरामको लौरी लिएका उनका पाँच वर्षीय भाई विनायक उनीसँगै थिए । ललिताले गुडिया फालिन्, भाईले त्यसलाई लौरीले हाने ।
ललिताले ल्याएको जति गुडिया एकएक गर्दै फालिन्, सानो भाईले लौरीले त्यसलाई हानिरहे । गुडिया पर्व मधेसी हिन्दूले मनाउने चर्चितमध्येकै एक पर्व हो । यो पर्वमा पहिला पहिला ठूला व्यक्तिहरु संलग्न हुन्थे । अचेल साना छोराछोरीलाई पर्वमा सामेल गराउने गरेका छन् ।
नेपालगञ्जको त्रिभुवनचोक नजिक शुक्रवार साँझ रमाइलो गरेर गुडिया पर्व मनाइएको थियो । अवधि सांस्कृतिक विकास परिषद, बाँकेका अध्यक्ष सच्चिदानन्द चौबेले गुडिया पर्वको रौनक हराउदै गएको बताउँछन् । ‘पहिला जस्तो उत्साह अहिले छैन, पहिला टोलटोलमा यस्तो पर्व हुन्थ्यो, चौबेले भने, अहिले सीमित ठाउँमा हुन्छ । त्यो पनि परम्परा जोगाउने नाममा ।’ पछिल्लो पुस्तालाई संस्कार, कर्मका बारेमा धेरैले बताउने गरेका छैनन् । गुडिया पर्वमा बहिनीले पुराना टालाहरुको गुडिया (पुतली) बनाउँछिन् ।
त्यसलाई खुब मज्जाले सजाइन्छ । दाईभाईले पनि बेसराम या बयरको लौरीलाई सजाउँछन् । बहिनीले बनाएको राम्रो गुडियालाई चौराहामा ल्याएर फाल्ने र दाईभाईले त्यसलाई लौरीले हान्ने गरिन्छ । जसको भाई छैन । उसको हकमा केटीले गुडिया फाल्ने र त्यहाँ उपस्थित भएका केटाले त्यसलाई हान्ने गर्छन् । गुडिया फाल्ने केटी र हान्ने केटा दाजुबहिनी हुन्छन् । द्वापरयुगमा बहिनीले नभन्नु भनेको कुरा भनेकाले भाईहरुले कुटेको÷मारेको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्