शिवु खनाल । दाङ ।
कोरोना भाइरसको दोस्रो लहरका कारण दाङ गढवा गाउँपालिकाका वडा नम्बर, ६ बालापुरका दानबहादुर थापाले रोजगारी गुमाए । दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका उनी अहिले दैनिक ज्याला मजदुरी गर्न नपाउँदा बेरोजगार छन् । रोजगारी नपाउँदा थापालाई अहिले आर्थिक अभावमा साँझ बिहान परिवारको छाक टार्न समेत समस्या परिरहेको छ । ‘कोरोनाले रोजगारी समेत अहिले पाइएको छैन’ उनले भने, ‘अब त रोकभन्दा पनि भोकले मरिन्छ की भन्ने लागिसक्यो ।’ आफुहरुको भन्दा पनि रोजगारी नहुँदा घरमा रहेका केटाकेटीहरुलाई साँझ बिहान के खुवाउने भनेर चिन्ता लाग्ने उनले बताए । केही दिनअघि घरमा खानेकुरा नै सकिएर भोकभोकै बस्नुपरेको थापा बताउँछन् ।
थापाकै जस्तो समस्या छ, सोही ठाउँकी कुमारी दमाइको । ‘पौष्टिक आहारको त कुरै छोडौं पेट भर्ने अन्न पनि घरमा भएन । कोरोनाले काम बन्द भयो’ उनले भनिन्, ‘पसलमा पनि रासन दिन गाह्रो मान्न थाले । आर्थिक अभावमा आधा पेट खाएर बस्नुप¥यो ।’ यी दुई त कोरोना कहरका कारण रोजगारी गुमाएका प्रतिनिधि हुन् । कोरोनाको दोस्रो लहरका कारण खासगरी निम्न आय भएका मानिसहरुले रोजगारी गुमाएका छन् । दैनिक ज्यालादारी गरेर परिवार पाल्दै पाएका मानिसहरु काम पाइन छाडेपछि मर्कामा परेका हुन् ।
कोरोनाको पहिलो लहरमा विभिन्न संघसंस्थाहरुले राहात वितरण गरेपनि पछिल्लो समय भने एकदमै कमैले मात्रै सहयोग गरिरहेका छन् । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष गिरीराज भट्ट कोरोनाका कारण गरिखाने वर्गहरु समस्यामा परेको बताए । ‘कोरोनाको दोस्रो लहर नियन्त्रणको लागि निषेधाज्ञा जारी गर्दा धेरैको रोजगारी गुम्यो’ उनले भने, ‘केहीले अवस्था सामान्य भएपछि रोजगारी पाएपनि दैनिक ज्यालादारी गरेर परिवार पाल्नेहरु मारमा परेका छन् ।’ स्थानीय स्तरमा कोरोनाका कारण विकास निर्माण लगायतका कामहरु हुन नसक्दा दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्नेहरु समस्यामा परेका हुन् ।
राहात वितरण
देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले राहात वितरण गरेको छ । विभिन्न संघ संस्थाहरुको सहयोगमा पुस्तकालयले शुक्रवार रोजगारी गुमाएकाहरुलाई राहात सामाग्री वितरण गरेको हो । कोभिड प्रभावित घर परिवारहरुलाई राहातको रुपमा खाद्यान्न लगायतका सामाग्रीहरु वितरण गरिएको पुस्तकालयले जनाएको छ । कोभिड प्रभावित, अपांगता भएका ब्यक्ति, अति अशक्त र अति बिपन्न ६० घर परिवारलाई सामाग्री वितरण गरिएको थियो ।
वितरण गरिएको राहातमा २५ किलो चामल, २ किलो खाने तेल, २ किलो दाल, ५ किलो आटा थैली, सोयाबिन १ किलो, नून १ पोका, नुहाउने साबुन ५ थान, मास्क १ पोका, सेनेटाइजर ५०० एमएल, पानी तताउने इलेक्ट्रिक जग १ थान र ज्वरो नाप्ने थर्मोमिटर १ थान गरि ११ प्रकारका सामाग्री रहेका थिए । वडा नम्बर ६ वडा कार्यालयले सिफारिस गरेका अति बिपन्न नागरिकहरुलाई राहात प्याकेज उपलब्ध गराइएको थियो । राहात पाएपछि अति विभिन्न परिवारहरुले केही दिन भएपनि खान पुग्ने भन्दै खुशी व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्