सिलाइ मेसिनमा भविश्य खोज्दै ‘कमला’



शिवु खनाल, दाङ, २८ साउन

निषेधाज्ञा अगाडीसम्म कमला परियारका हात खाली हुन्थेन । बिहानदेखि बेलुकीसम्म लुगा सिलाउने मेसिनमा खुट्खुट् पार्ने खुट्टाले पनि आराम पाउँन्थिनन् । पढ्ने उमेर र हातमा कापी कलम समाउने बेला सानै उमेरमै भट्टामा कलिला हातले ईट्टा समाउनु प¥यो,कमलालाई । भट्टामा ज्याला मजदुरी गरेर कमलाले केही रकम संकलन गरिन् ।

त्यसपछि उनी सिलाइ सिक्न भनि काठमाडौंसम्म पुगिन् । कमलाकी साथीले सिलाइमा आकर्षित गरिदिइन् । सिलाइ सम्बन्धी तीन महिना तालिम लिइन् । गाउँमा फर्केर पनि काम गर्न सकिने र चाँडै कमाइ हुने भनेपछि कमला सिलाइ सिक्न कस्सिएकी थिइन् ।
राजपुर गाउँपालिका वडा नम्बर ४ मतिपुर निवासी परिवार अहिले गाउँमै सिलाइकटाइ गर्दै आएकी छन् । कमाइ हुन थाले पनि यत्तिमा सीमित हुन मन लागेन उनलाई । अझ कमाउनुपर्छ भनेर कमलाले आफ्नो सीप उपयोग गर्ने ठानिन् ।

उध्रेकादेखि नयाँ लुगा सिलाउन थालेपछि कमाइ बढ्यो । घरमा सबै खुसी भए । गाउँमै मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत एक महिने सिलाइ मेशिन मर्मतको तालिम लिइन् । यसैगरी उनले आफूले जानेको सीपलाई निरन्तरता दिँदै आएकी छिन् । कमलाले सिलाइ मेसिनमा भविश्य खोज्दै छिन् । आफूले गरेको संघर्ष सम्झेर पनि होला, आर्थिक स्थिति कमजोर भएका महिलालाई उनी सित्तैमा सिकाइदिने बताउँछिन् । कमल भन्छिन्, ‘मैले जस्तो दुःख अरूले नपाऊन् ।’

नि :शुल्क सिलाइ मेसिन

विपन्न वर्गका महिलाहरुको लागि सञ्चालन गरिएको सिलाई मेसिन मर्मत तालिममा निः शुल्क मेसिन हस्तान्तरण गरिएको छ । मुख्यमन्त्री ग्रामिण विकास तथा रोगजार कार्यक्रम अन्र्तगत राजपुर गाउँपालिकाले एकदेखि सात नम्बर वडा अन्र्तगत विपन्न वर्गका महिलाहरुको लागि एक महिने सिलाई मेसिन मर्मत तालिमको आयोजना गरिएको थियो ।

जसअन्र्तगत बाह्रजना विपन्न वर्गका महिलाहरुको लागि सञ्चालन गरिएको सिलाइ मेसिन मर्मत तालिममै प्रति व्यक्ति एउटाका दरले नि :शुल्क मेसिन हस्तान्तरण गरिएको मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम राजपुरका संयोजक गिरीराज भट्टले जानकारी दिए ।

उनका अनुसार महिलाहरुलाई मेसिनसँगै कैची, स्केल लगायतका सामग्री समेत हस्तान्त्रण गरिएको छ । विपन्न महिलाहरूको आर्थिक अवस्था उकास्न सिलाई मेशिन वितरण गरिएको छ । राजपुर गाउँपालिका अन्र्तगतका महिलालाई सिलाइ मेसिन मर्मत तालिममा समावेश गराई बाह्रवटा सिलाइ मेसिन वितरण गरिएको मुख्यमन्त्री ग्रामिण विकास तथा रोगजार कार्यक्रम राजपुरका संयोजक गिरीराज भट्टले जानकारी दिए ।

विपन्न महिलाहरूलाई आत्मनिर्भर बनाउन र व्यवसायीमा जोड्न एक महिने सिलाइ मेसिन मर्मत तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक भट्टले बताए । यता तालिममा सहभागी सम्झना चौधरीले आफु सिलाइ मेसिन मर्मत तथा प्रशिक्षण केन्द्र खोल्ने योजनामा
रहेको बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रबार