जिल्लामा रहेका ८ स्थानीय तहमध्ये सबैभन्दा उजुरी कोहलपुर नगरपालिकाका परेका हुन् ।
गत आर्थिक वर्षमा कोहलपुर नगरपालिकाका १६ उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले जनाएको छ । त्यसपछि दोस्रोमा राप्तीसोनारी गाउँपालिकाका ११ वटा उजुरी अख्तियारको कार्यालयमा परेका छन् ।
त्यस्तै तेस्रोमा १० वटा उजुरीसहित नेपालगञ्ज उपमहानगरपालिका रहेको छ । खजुरा र जानकी गाउँपालिकाका ७/७ वटा, डुडुवाको ५, बैजनाथको ३ र नरैनापुरको २ वटा उजुरी फच्छ्र्याैट हुन बाँकी रहेको अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जले जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति सम्बन्धि विवरण सार्वजनिक तथा सञ्चारकर्मी भेटघाट कार्यक्रममा कार्यालय प्रमुख कृष्ण कुमार निरौलाले ४ वटा जिल्ला कार्य क्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा सबैभन्दा बढी उजुरी बाँकेका रहेको जानकारी दिए ।
गएको आर्थिक वर्षमा स्थानीय तहका सबैभन्दा बढी २५२ उजुरी परेका थिए । ती मध्ये १५४ फच्छ्र्यौट भएका छन् । अख्तियार नेपालगञ्जका अनुसार विकास योजनामा बास्तविक सम्पन्न कार्य भन्दा बढी रकम भुक्तानी गरेको र न्यून गुणस्तरीयरुपमा सम्पन्न गरेको सम्बन्धमा सबैभन्दा बढि उजुरी दर्ता हुने गरेको छ ।
यस्तै सार्वजनिक खरिद ऐनको पालना नगरी खरिद कारवाही गरिएको, झुठा बिल भरपाई, बास्तविक भन्दा बढी खर्च देखाई अनियमितता गरेको, कर्मचारी भर्ना गर्दा योग्यता प्रणालीको बर्खिलाप हुने गरी भर्ना गरेको, स्विकृत दरबन्दी विपरित भर्ना गरेको, सार्वजनिक जग्गाको अनाधिकृत कब्जा, अतिक्रमण र दर्ता सम्बन्धि, पदीय दायित्व पालना नगरेको, अनुचित कार्य सम्बन्धि, अकुत सम्पत्ति आर्जन, झुठा शैक्षिक प्रमाणपत्र लगायतका विषयमा बढी उजुरी पर्ने गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्