आफ्नै बासस्थान फर्किन थाले संसारभर चर्चित बनेका चिनियाँ जंगली हात्ती



एजेन्सी ।

विश्वभर चर्चामा आएका १४ चिनियाँ जंगली हात्ती पुन: आफ्नो बासस्थान फर्किन थालेका छन्।

कयौं दिनसम्म आफ्नो बासस्थान छाडेर सहर, वन-जंगल हिँडेका ती हात्तीको बथान अहिले फेरि फर्किंदै गरेको सिजिटिएनले जनाएको छ। हात्तीको बथान त्यसरी हिँडेपछि संसारभर नै चर्चित बनेको थियो।

उनीहरू अब आफ्नै बासस्थान युनानको दक्षिण-पश्चिमी क्षेत्रतिर जाँदैछन्।

हात्तीहरूले पछिल्ला पाँच दिन युनानस्थित युक्सी सहरको युआनजियाङमा बिताएका थिए। ती समयमा उनीहरूले त्यहाँ घुम्दै र खाना खोज्दै बिताए।

वन्यजन्तु संरक्षकका अनुसार ती १४ हात्तीले १३ सय किलोमिटरको यात्रा गरिसकेका छन्। सोमबार भएको प्रेस ब्रिफिङमा हात्तीहरूले युआन नदीको ब्रिज काटिसकेको अधिकारीले बताएका थिए।   

ती हात्तीका कारण हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न स्थानीय सरकारले आपतकालीन कमिटी बनाएको थियो। सो कमिटीले हात्तीहरूलाई आफ्नो बासस्थान फर्किन मद्दत गर्दैछ। बाटो नबिराउन तारहरूमा करेन्ट छाडेर र कृत्रिम सडक बनाएर उनीहरूलाई आफ्नो रूट देखाइरहेको रोयटर्सले जनाएको छ।

हात्ती सहर पसेदेखि नै स्थानीय अधिकारीहरूले ड्रोनले ट्रयाक गरिरहेका छन्।

ncell in

कमिटीका सदस्य याङ यिङयोङका अनुसार उनीहरूको रूट तय गर्न वैज्ञानिक रूपमै योजना बनाइएको थियो।

युनान प्रान्तले २५ हजार प्रहरी र कर्मचारी खटाएको थियो। साथै हात्तीलाई ट्रयाक गर्न, खुवाउन र मानिसको सुरक्षाका लागि १५ सय आपतकालीन सवारीसाधन समेत खटाइएको थियो।

उनीहरूले यात्रा गर्ने रूटमा रहेका एक लाख ५० हजार मानिसहरूलाई स्थानान्तरण समेत गरिएको थियो। त्यस्तै, हात्तीका कारण ५ मिलियन युयानको क्षति समेत भएको छ।

गत वर्ष मार्चमा युनानको सिसुवाङबन्ना स्वशासित क्षेत्रस्थित जंगल छाडेर १६ वटा हात्ती निस्किएका थिए।

जंगल छाड्दा १६ वटा हात्ती थिए। तर एउटा हात्ती बासस्थानतर्फ फर्किएको थियो।

त्यसपछि बीच बाटोमै दुइटा हात्ती जन्मिएको नेसनल फोरेस्ट्री एन्ड ग्रासल्यान्ड एड्मिनिस्ट्रेसनले बताएको थियो। गत अप्रिलमा ती हात्ती उत्तरी युआनजियाङ्ग काउन्टी पसेपछि अधिकारीहरू सतर्क भएका थिए। त्यहाँ पुगेपछि फेरि दुइटा हात्ती पहिला आएको जंगलतिर फर्किएका थिए।

फेरि गत जुनमा अर्को एउटा हात्तीले बथान छाडेर फर्केको थियो।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २७ गते बुधबार