29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामापछि के हुन्छ अब ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन २७, २०७८  

बुटवल ।

लुम्बिनी प्रदेशमा अब माओवादी केन्द्रको नेतृत्वमा चार दलीय गठबन्धनको मिलीजुली सरकार बन्ने बाटो अगाडि बढेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले पदबाट बुधवार राजीनामा दिएसँगै लुम्बिनीमा अब नयाँ सरकार बन्ने बाटो खुलेको हो । पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् ।

विगत ३ महिनादेखिको सत्ता किचलोले अब बाटो लिएको छ । लुम्बिनीमा माओवादी केन्द्रका संसदीय दलका नेता कूलप्रसाद केसीको नेतृत्वमा प्रदेश सरकार बन्ने छ ।

मिलीजुली सरकारको मुख्यमन्त्रीमा केसीलाई अगाडि सारिएको छ । केसी रोल्पा क्षेत्र नम्बर १ (१) बाट प्रत्यक्ष निर्वाचित माओवादीका सांसद हुन् । केसी निवर्तमान पोखरेल नेतृत्वको सरकारमा तीन वर्ष आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत भएर काम गरेको अनुभव छ ।

प्रदेश सभाको बाँकी १६ महिनामध्ये आधा–आधा माओवादी र कांग्रेसले सरकारको नेतृत्व गर्ने दुई पार्टीबीच सहमति भएको माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुदर्शन बरालले बताए । केसीपछि कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले नेतृत्व गर्ने साझेदारी भएको बरालको भनाइ छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आजै नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी रहेको बताइएको छ ।

प्रदेश प्रमुखले नयाँ सरकारका लागि आह्वान गरेसँगै बहुमत सांसदको हस्ताक्षरसहित नयाँ सरकारको दाबी प्रस्तुत गर्न प्रदेश प्रमुखकोमा जाने तयारी रहेको बरालले बताए ।

गठबन्धनसँग अहिले ४१ सांसद छन्, जुन संख्या आवश्यक बहुमत हो ।

प्रकाशित मितिः बुधबार, साउन २७, २०७८     2:51:23 PM  |