शिवु खनाल । दाङ ।
दाङ गढवा गाउँपालिका वडा नम्बर, १ मलमलाकी मतिदेवी कुमाललाई हरेक दुई÷दुई वर्षमा घरको छानो फेर्दा सास्ती हुन्थ्यो । न्यून आयस्रोत भएको परिवारकी उनीलाई घरको छानोमा नयाँ खर फेर्नुपर्दा निकै समस्या थियो । अबदेखि भने उनको परिवारले खरको छाना फेर्न दुख गर्नुपर्ने छैन । अहिले मतिदेवीको घरमा खरको छाना विस्थापित गरेर जस्तापाता लगाइसकिएको छ ।
वडा कार्यालयको खरको छानो हटाउने नीतिअनुसार घर जस्तापाताले छाइएको हो । वडा कार्यालयले गत आर्थिक वर्ष २०७७÷०७८ मा मात्रै उनी जस्तै ५१ घरलाई खरको छानामुक्त गरेको थियो । ‘खरको छानामुनि बस्दै आएको थिएँ, जस्तापाताले छाउने घरको क्षमता थिएन । वडा सरकारले जस्तापाताले घर छाइदियो’ मतिदेवीले खुशी हुँदै भनिन्, ‘दुई वर्षमा घरको छानो फेर्दै आउँदा निकै सकस थियो । गाउँमा खरसमेत पाइन छाडेको थियो, अब ढुक्क भइयो । अब त बाचुन्जेल घरको छानो फेर्न नपर्ला ।’
मतिदेवीको जस्तै स्थानीय यमकुमारी दमाईको घरमा समेत खरको छाना बिस्थापित भइसकेको छ । ‘पुरानो घरमा खरले छाएर बस्दै आएका थियौंं’ उनले भनिन्, ‘अहिले जस्तापाताले छाएपछि घर नयाँ जस्तै बनेको छ ।’ खरको घर जोखिम र झन्झटिलो भएको भन्दै उनीले वडाले जस्तापाता हालिदिएपछि आफूलाई अब सहज भएको बताइन् । जस्ताले घर छाएपछि आगलागी हुने, पानी चुहिने समस्यासमेत धेरै हदसम्म समाधान भएको छ । वडा कार्यालयले आर्थिक वर्ष ०७७÷०७८ मा ५१ गरिब परिवारको घरमा जस्तापाताले छाइदिएको गढवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए ।
‘अती न्यून वर्गका घरमा जस्तापाता प्रदान गरिएको र आगामी वर्ष पनि कार्यक्रम निरन्तर सञ्चालन हुनेछ’ उनले भने, ‘वडा सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ५१ जनाको घर जस्तापाताले छाइएको हो ।’ वडाले घरको छाना बिस्थापित गर्न आर्थिक वर्ष २०७७÷०७८ मा १० लाख रुपैयाँ विनियोजन गरेको थियो । वडाभित्र रहेका न्यून वर्गका परिवारबाट खरको छाना बिस्थापित गरी जस्तापाता हाल्न माग भए अनुसार अब सबै खरका घरमा जस्तापाताले छाइने वडाध्यक्ष अधिकारीले बताउँछन् । खरको छानो भएको घरमा आगलागीको जोखिममा हुने र गाउँघरमा युवा जनशक्ति नहुँदा वृद्धवृद्धालाई घर छाउन कठिनाई भएकाले खरको छानो बिस्थापित गरेर जस्तापाता हालिएको उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्