भूमि आयोग खारेजीको विरोधमा प्रदर्शन



कोहलपुर, भूमीसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकार निर्णय विरुद्ध नेकपा एमाले बाँकेले विरोध प्रदर्शन गरेको छ । । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला गठन भएको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको विरोध गर्दै एमाले बाँकेले आइतबार कोहलपुरमा विरोध प्रदर्शन गरेको हो ।

नेकपा एमाले बाँके तथा सम्बद्ध सम्पूर्ण जनसंगठनहरुले शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग खारेज गरेको विरोधमा प्रदर्शन गरिएको थियो । पार्टीका नेता , कार्यकर्ता तथा विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको विरोध प्रदर्शनमा भूमि सम्बन्धी समस्या समाधान आयोग पुर्नगठनको माग गरिएको हो ।

विरोध प्रदर्शनमा सहभागीहरुले ‘गरिब सुकुम्बासी एक होऔँ, भूमिहीन सुकुम्बासीहरुलाई लालपूर्जा दे, भूमि आयोगको खारेजी बदर गर, परमादेशको सरकार मुर्दावाद’ लगायतका नारा लगाएका थिए । उक्त विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एमाले बाँकेका जिल्ला अध्यक्ष सुर्य ढकालले भूमि सम्बन्धी समस्या समाधान आयोग परमादेशको सरकारले खारेज गरेको विरोधमा कोहलपुरमा विरोध प्रदर्शन गरिएको बताए ।

शेर बहादुर देउवा नेतृत्वको सरकार विरुद्ध सम्पूर्ण भातृ तथा जनवर्गीय संगठन र पार्टीले र साझा रुपमा जुलुस निकालेका थिए । उनले वर्तमान सरकार भूमिहीन, सुकुम्बासीहरुको पक्षमा नरहेको आरोप लगाए । उनका अनुसार सरकारले कुनै पनि हालतमा भूमि आयोग पुर्नगठन गरेर गरिब र भूमिहीनहरुलाई लालपूर्जा दिनुपर्छ ।

उक्त अवसरमा खारेज गरिएको जिल्ला भूमि सम्बन्धी समस्या आयोग बाँकेका सदस्य गोपाल गिरी लगायतले आफ्नो धारणा राखेका थिए । बाँकेमा भूमिहीन दलित ,सुकुमबासी र अव्यवस्थित बसोबासी ५५ हजार भन्दा माथि रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २५ गते सोमबार