शिवु खनाल,दाङ, २३ साउन
प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताएका छन् । उनले सामुदायिक विद्यालयको स्तर वृद्धि सँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिए । शनिबार दाङको राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया स्थित जनज्योति माध्यमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै सदस्य चौधरीले बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकहरुलाई आग्रह गरे ।
‘शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल जनतालाई दिनुपर्छ ।’उनले भने । शिक्षालाई व्यवहारिक, जीवनउपयोगी र गुणस्तरीय बनाउन सामुदायिक विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको चौधरीको भनाइ छ ।
नेकपा एमालेका प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले शिक्षामा लगानी नबढाई हामीले प्रगति गर्न नसकिने बताएका थिए । शिक्षा मुलुकको समग्र विकासको पूर्व सर्त हो । वर्गीय अन्तरविरोध हटाउने कुरा, सामाजिक विभेदहरुलाई हटाउने कुरा, नेपाली समाजलाई एउटा समतामुलक, न्यायमुलक समाजमा रुपान्तरण गर्ने कुरा शक्षाले मात्रै सम्भव छ । यस तर्फ सरकारको उचित ध्यान जानुपर्छ, उनले भने, ‘पठनपाठनको राम्रो वातावरण बनाउने, विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने, देशभित्र शैक्षिक हब बनाउने विषय आजको चुनौती हो । त्यसो गर्न सक्यौं भने हाम्रो देशले छोटो समयमा प्रगति गर्न सक्छ । ’
शनिबार जनज्योति माध्यमिक विद्यालयमा स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्र्तगत २५ लाख बजेटबाट नवनिर्मित पाँच कोठे सटर, तराई मधेस समृद्धि कार्यक्रम अन्र्तगत चालीस लाख र गाउँपालिकको दशलाख बजेटबाट नवनिर्मित चारकोठे पक्की भवन र राजपुर गाउँपाकिला वडा नम्बर २ को वडा कार्यालयबाट आर्थिक वर्ष २०७५/०७६ को बीस लाख बजेटबाट सम्पनन भएको दुईकोठे पक्की भवनको विधिवत् रूपमा संयुक्तमा उद्घाटन गरिएको हो ।
उक्त कार्यक्रममा सदस्य चौधरीले राजपुरको मावि सिक्टा र जनज्योतिमा दुईवटा छात्रबास निर्माण गर्ने प्रतिवद्वता जनाएका थिए । कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी, राजपुर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष दुर्गाप्रसाद शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराजगिरी, विद्यालयका प्रअ केशवराज यादव लगायतले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस्