कोहलपुर ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले हराएकी एक २५ वर्षीया युवतीलाई सकुशल फेला पारेको छ ।
मंगलबार साँझ हराएकी राप्तीसोनारी गाउँपालिका, २ माथेवासकी एक युवतीलाई कोहलपुरले प्रहरीले बुधबार बिहान सकुशल फेला पारेको हो ।
मंगलबार साँझ ५ बजेदेखि हराइरहेकी माथेवासकी २५ वर्षीया युवतीलाई बुधबार बिहान ११ बजे फेला पारेर आफन्तको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए ।
‘युवती हराएको खबर पाउनेबित्तिकै हामीले गम्भीर रुपमा लिएर अनुसन्धान अगाडि बढाउँदै खोजी तीव्र पारेका थियौं’ उनले भने, ‘सोही क्रममा युवतीलाई बुधबार बिहान राप्तीसोनारी १ को गाभरमा फेला पारेका हौं ।’ युवती हराएको खबर पाएलगत्तै कोहलपुरले प्रहरीले अगैयामा जडान गरिएको सिसिटिभी क्यामेराको सहयोग लिएको थियो ।
युवती हराएको दिन प्रहरी चौकी अगैयाले जडान गरेको सिसिटिभी क्यामेरामा साँझ ५ बजेर ३८ मिनेट जाँदाको समयमा उनी मोटरसाइकलमा चढेर पुर्वतर्फ लागेको देखिएको थियो ।
‘सिसिटिभी क्यामेरा हेर्दा अगैयाबाट मोटरसाइकलमा पूर्वतर्फ गएको पत्ता लाग्यो’ डिएसपी खनालले भने, ‘त्यसपछि हामीले सबै तरिकाबाट पूर्व क्षेत्रलाई नै फोकस गरिरहेका थियौं ।
सोही क्रममा युवतीलाई अगैया नजिकै रहेको गाभरमा फेला पारिएको हो ।’ सिसिटिभी फुटेजमा नम्बर नखुलेको मोटरसाइकलमा घाँससहित युवती पूर्वतिर गइरहेको देखिएको थियो ।
फेला परेकी युवतीलाई आफन्तको जिम्मा लगाइएको र यसबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्