सम्पादकीय : अहिलेबाटै सजग बनौं



कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बाँके धेरै नै आक्रान्त बन्यो । कोरोनाको पहिलो चरण मात्र होइन, दोस्रो चरणमा समेत जिल्ला प्रभावित बन्यो । अझ् कोरोना दोस्रो चरणमा सबैभन्दा धेरै प्रभावित हुने जिल्ला बाँके नै हो भन्दा पनि हुन्छ । साविक मध्य र सुदुरपश्चिमाञ्चलको प्रमुख व्यापारीक केन्द्र रहेको बाँके कोरोनाले प्रभावित हुँदा अर्थतन्त्रमा समस्या आयो ।

गत चैत्र दोस्रो साताबाट क्रमश फैलिन थालेको कोरोनाको दोस्रो चरण बैशाखको सुरुमा आइसक्दा भयावह भएको थियो । यहाँका स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आयो भने भएका स्वास्थ्यकर्मी तथा चिकित्सक समेत अभाव भयो । यहाँ स्वास्थ्यकर्मीहरुलाई सघाउनको लागि अन्य जिल्लाबाट समेत सरकारले यहाँका अस्पतालमा स्वास्थ्यकर्मी र चिकित्सक खटायो । बैशाखको पहिलो सातातिर त बाँकेमा सक्रिय संक्रमितको संख्या दैनिक ५ हजार नै पुगे । अस्पतालमा अक्सिजन मात्र होइन त्यो समयमा त बेड समेत पाउन पालो कुर्नुपर्ने अवस्था आयो ।

कतीपय संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाउनुप¥यो । बैशाखको अन्तिमतिरबाट संक्रमणदर क्रमश ओरालो लाग्न थालेपछि जनजीवन केही भएपनि सामान्य अवस्थामा फर्किन थालेको थियो । असार मध्यसम्म आइपुग्दा बाँकेको जनजीवन पुरानै अवस्थामा फर्कियो । जिल्लामा खोलिएका कोभिड अस्पतालहरु बन्द भए । कोभिड वार्ड सञ्चालन गरेका अस्पतालहरुले पनि नियमित सेवा दिन सुरु गरे । भेरी अस्पतालको कोभिड वार्डमा समेत कोरोना संक्रमित बिरामीको संख्यामा कमी आइसकेको थियो । फेरी बाँकेमा घटिसकेको कोरोना संक्रमणदर पछिल्ला दिनहरुमा उकालो लाग्न थालिसकेको छ ।

साउनको दोस्रो साताको अन्तिमतिरबाट यहाँका अस्पतालमा कोरोना गम्भीर बिरामीहरु समेत बढिरहेका छन् । सबै क्षेत्र खुल्दा स्वास्थ्य मापदण्डको पालनामा कसैले चासो नदिदा विस्तारै संक्रमणदर बढ्न थालेको चिकित्सकहरु बताउँछन् । बाँकेका तीन प्रयोगशालामा गरिएको नमूनाको पोजिटिभ देखिने दर हेर्दा समेत पछिल्ला दिनहरुमा बढिरहेको छ । विज्ञहरुले नेपालमा समेत कोरोना तेस्रो लहर आउने चेतावनी दिइरहेका छन् । फेरी कतै कोरोनाको तेस्रो लहरको समेत हटस्पट बाँके बन्ने त होइन ।

अहिले फेरी यही चिन्ता सरोकारवालाहरुलाई देखिएको छ । बजारमा मानिसहरुले स्वास्थ्य मापदण्ड पालना नगरेर भिडभाड गरेको देख्दा त्यस्तै लाग्छ । अब तपाई हामी कोरोनाको तेस्रो लहरबाट बच्नको लागि अहिलेदेखि नै सावधानी अपनाउनुपर्छ । नत्र कोरोना दोस्रो लहरभन्दा पनि बढी क्षती तपाई हामीले व्यहोर्नुपर्ने पक्का छ । त्यसैले अहिलेदेखि नै स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरौं ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २० गते बुधबार