29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

‘डेल्टा भेरियन्ट’को संक्रमण देखिएसँग चीनका विभिन्न शहरमा यात्रा प्रतिबन्ध

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन १९, २०७८  

काठमाडौं ।

जुलाईमा चीनमा स्थानीय रुपमा ३२८ नयाँ संक्रमित पहिचान भएसँगै त्यहाँ उच्च सतर्कता अपनाइएको छ। यो संख्या गत महिना अगाडिको पाँच महिनाको संक्रमण बराबर हो।

पछिल्लो कोभिड-१९ को संक्रमण रसियाबाट नानजिङका लागि आएको विमानबाट फैलिएको भनिएको छ। यसरी पुष्टि भएका सबै केसहरुमा कोभिड-१९ को डेल्टा भेरियन्ट देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी ह क्षिह्वालाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ।

कोभिड-१९ को डेल्टा भेरियन्ट हालसम्म चीनका १० प्रान्‍तमा देखिएको छ। जुलाई २० यता मध्य चीनको हुनान प्रान्तमा स्थानीय रुपमा १० नयाँ केस पुष्टि भएका छन्।

त्यस्तै ९० लाख भन्दा बढी जनसंख्या भएको नानजिङमा मात्र स्थानीय रुपमा २१५ केस पुष्टि भएका छन्। यो नयाँ क्लस्टर केस जुलाई २० देखि देखिएको थियो। नानजिङको लुकोउ अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाई कर्मचारीको नियमित परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो।

संक्रमण देखिएसँगै त्यहाँ नियन्त्रणका लागि कडा व्यवस्था लगाइएको थियो। पछिल्लो दिनमा संक्रमण केही ओरालो लागेको बताइएको छ।

सोमवार देखि त्यहाँ आम परीक्षण अभियान चलाइएको छ। जसमा ९ जिल्लाका नागरिकको आम परीक्षण हुने त्यहाँको नगर स्वास्थ्य आयोगका उपप्रमुख याङ दासौले बताएका छन्।

यो विमानस्थलमा जुलाई ३० देखि सबै उडान रद्द गरिएका छन्। त्यस्तै नानजिङ छाड्ने जो कोहीलाई पनि अनिवार्य न्युक्लिक एसिड टेस्टको प्रमाणपत्र उपलब्ध गराउनुपर्नेछ। त्यस्तै जुलाई ६ देखि नानजिङ छाडेका यात्रुहरुको विवरण सम्बन्धित प्रान्त र शहरहरुलाई जानकारी गराइएको छ।

त्यहाँको दोस्रो अस्पतालमा ताङसान शाखामा १००० बेड तयारी अवस्थामा राखिएको छ भने २९७ संक्रमण पूर्ण रुपमा अस्पतालमै आइसोलेट गरिएको छ।

जुलाई २० देखि सबै नर्सिङ संस्थाहरुमा बन्द व्यवस्थापनमा राखिएको छ।

त्यस्तै हुनान प्रान्तको प्रसिद्ध पर्यटकीय स्थल झाङजेइजेइ शुक्रवार देखि बन्द गरिएको छ। सबै पर्यटकहरुलाई न्युक्लिक एसिड टेस्ट पछि नेगेटिभ रिपोर्ट आए मात्र शहर छाड्न भनिएको छ।

प्रकाशित मितिः मङ्लबार, साउन १९, २०७८     1:26:07 PM  |