विद्यालय सञ्चालन गर्न अनुचित दबाब !



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाको निर्देशन विपरित नगर क्षेत्रमा भौतिक रुपमा पठनपाठन सुरु गर्न अनुचित दबाब बढ्न थालेको छ । बारम्बार स्थानीय सरकारको निर्देशनको अवज्ञा गर्दै लुकिछिपी भौतिक रुपमा विद्यालय सञ्चालन गर्दै आएका संस्थागत विद्यालयका सञ्चालक र अभिभावकहरुले नै नगरपालिकालाई भौतिक रुपमा विद्यालय सञ्चालन गर्न दबाब दिइरहेका हुन् ।

आइतबार कोहलपुर वडा नम्बर १० मा रहेको जीवन ज्योती स्कूलका अभिभावकहरुको एक समूह पठनपाठन सुरु गर्नुपर्ने माग राख्दै कोहलपुर नगरपालिकामा पुगेका छन् । उक्त स्कूलमा शनिबार मात्रै भौतिक रुपमा विद्यालय सञ्चालन भइरहेको जानकारीपछि नगरपालिका र विद्यार्थी संगठनहरुले संयुक्त रुपमा अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा उक्त विद्यालयमा भौतिक रुपमा नै पठनपाठन भइरहेको पाइएको थियो । निषेधाज्ञाका कारण लामो समयदेखि विद्यालय सञ्चालन गर्न दिइएको छैन । तर त्यहाँ शनिबारका दिन ७६ जना विद्यार्थीहरु भौतिक रुपमा उपस्थित थिए । उक्त दिन कक्षा चार देखि ८ कक्षा सम्मका विद्यार्थी उपस्थित रहेको स्कूलका एडमिन कल्याण तिल्सिना बताउँछन् ।

कोहलपुर नगरपालिकाको तर्फबाट अनुगमनको नेतृत्व गर्दै गएका शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्याल त उक्त विद्यालयले अनुमति बिना कक्षा आठको समेत पठनपाठन गरिरहेको बताउँछन् ।उनले नगरपालिकाको निर्देशन विपरित भौतिक उपस्थितिमा पठनपाठन भइरहेको समेत जानकारी दिए ।

यता, आइतबार कोहलपुर नगरपालिकाका प्रमुख लूटबहादुर रावतलाई भेटी उक्त विद्यालयका ३१ जना अभिभावकले लिखित रुपमा स्थानीय सरकारका प्रतिनिधि सम्मिलित अनुगमन टोलीमाथि नै प्रश्न उठाएका छन् । जबकी बाँकेमा जारी निषेधाज्ञा तथा नगरपालिकाको निर्देशन अनुसार भौतिक रुपमा विद्यालय सञ्चालन नै गर्न पाइदैन । जीवन ज्योती स्कूलमा त शनिबारका दिन दर्जनौ विद्यार्थी भौतिक रुपमा उपस्थित थिए । अभिभावकहरुले नगर प्रमुखलाई बुझाएको जानकारी ज्ञापन पत्रमा विभिन्न पाँच बुँदे जानकारी माग गरेका छन् ।

उक्त पत्रमा शनिबार गरिएको अनुगमनका क्रममा विद्यार्थीहरुलाई धम्की दिनुका साथै विद्यार्थीहरुप्रति अनुचित व्यवहार भएको बताइएको छ । अभिभावकहरुले बुझाएको पाँच बुँदे जानकारी ज्ञापन पत्रको पाँच नम्बर बुँदॉ अनुगमनको नाममा कक्षा आठको अनुमति प्राप्त नभएको छ’ भन्ने उल्लेख छ । यस विषयमा नगर शिक्षा प्रमुख पौड्याल जीवन ज्योति स्कूललाई अहिलेसम्म नगरपालिकाले कक्षा आठ सम्म अध्ययपनको लागि अनुमति नदिएको बताउँछन् । उनका अनुसार उक्त विद्यालय सहित अन्य विद्यालयहरुको आठ कक्षा सम्म अध्यापनको लागि शिक्षा समितिले सिफारिस गरी नगर कार्यपालिकामा पठाएको छ । तर अहिलेसम्म औपचारिक रुपमा स्कूलले कक्षा आठ सम्म अध्यापनको लागि अनुमति पाएको छैन । तर उक्त विद्यालयमा कक्षा आठको पठनपाठन भइरहेको छ ।

सोही बुँदामा स्कूलले प्रक्रियागत रुपमा आवश्यक कागजात सहित पेश भएकोमा आधिकारिक पत्र अहिलेसम्म प्राप्त भएन, किन ? भन्दै उल्टै नगरपालिकालाई प्रश्न गरिएको छ । यस सम्बन्धमा कोहलपुर नगरपालिकाका प्रमुख लूटबहादुर रावत शिक्षा समितिबाट सिफारिस भएर आएको तर कोभिड–१९ लगायतका कारणले प्रक्रियामा रहेको बताउँछन् ।

उनले नगर कार्यपालिकाको बैठकको निर्णयबाट मात्रै अनुमति प्राप्त भएको वा नभएको जानकारी हुने बताए । यस विषयमा आवश्यक छलफल गर्न आफू तयार रहेको उनको भनाइ थियो । नगरप्रमुख रावतले कोरोना कहरको समयमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्नुपर्छ भन्ने ‘प्रेसर’ उचित नभएको बताएका छन् ।‘यस्तो अवस्थामा अभिभावकहरुले बुझ्नुपर्छ । विद्यालय सञ्चालनको लागि दबाब दिनु उचित होइन ।’ उनले भने ।

तर नगरपालिकाले आधिकारिक रुपमा कक्षा आठ अध्यापन तथा भौतिक रुपमा पठनपाठन गर्न निर्देशन नदिएसम्म विद्यालय सञ्चालन भएको पाइएमा कारबाही गरिने चेतावनी दिइएको छ । उक्त पत्रमा अनुगमनका नाममा विद्यार्थीहरुलाई डर,त्रास देखाइएको,अनुगमन कार्यको सामाजिक सञ्चालमा सार्वजनिक गरिएको,अनुगमन कर्ताले आधिकारिक पत्र र पहिचान नदिएको लगायतका विषयमा समेटिएका छन् ।

यस्तै तिनै अभिभावकहरुले जीवन ज्योति स्कूलका प्रिन्सिपललाई सम्बोधन गरेर पत्र बठाउँदै विद्यालय सञ्चालन गर्न माग गरेको पाइएको छ ।
गत असार २८ गते जीवन ज्योति स्कूललाई विद्यालय सञ्चालन सम्बन्धमा दिइएको पत्रमा ४४ जना अभिभावकहरुले अनलाइनमा पठनपाठन सञ्चालन भएपनि भौतिक रुपमा पठनपाठन नहुँदा विद्यार्थीमा दुविधा भएको भन्दै हप्तामा तीन दिन पठनपाठनको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

उक्त पत्रमा जीवन ज्योति स्कूलमा कक्षा सात पास भएर आठ कक्षामा पुगेका विद्यार्थीका ४४ जना अभिभावकहरुको सम्पर्क नम्बर सहित हस्ताक्षर रहेको छ । उक्त पत्रमा उल्लेख गरिए अनुसार स्कूलले २०७८ असार १ गतेदेखि अनलाइन कक्षा सञ्चालन गरिरहेको थियो ।

कोहलपुरमा यसअघि पनि संस्थागत विद्यालयहरुले लुकिछिपी नगरपालिकाको निर्देशन विपरित भौतिक रुपमा विद्यालय सञ्चालन गरेको पाइएको थियो ।पछि नगर शिक्षा शाखा सहित गरिएको अनुगमनमा ९ वटा संस्थागत विद्यालय त्यसो गरेको भेटिए । त्यसपछि पनि नगरपालिकाको निर्देशन अटेर गर्ने चार विद्यालय नगर शिक्षा शाखाबाट कारबाहीमा परिसकेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १८ गते सोमबार