19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

समाचारको प्रभाव : लमहीमा ‘नयाँ अटोभिलेज’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन १७, २०७८  

शिवु खनाल ,दाङ,

दाङको लमही बजारमा नयाँ अटोभिलेज बन्ने भएको छ ।देउखुरी उद्योग वाणिज्य संघ लमहीद्धारा निरन्तर पहलपछि बजारलाई व्यवस्थित गर्न नयाँ अटोभिलेज बनाउने कार्य अघि बढाइएको हो । अन्तत पटकपटक प्रयासपछि कुरुप बन्दै गएको लमही बजारलाई व्यवस्थित गर्न नयाँ अटोभिलेज निर्माणको कामलाई तिब्रता दिइएको छ । यस विषयमा मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकामा ‘कुरुप बन्दै लमही बजार’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

दाङ जिल्ला कै केन्द्र बिन्दु मानिने लमही बजार क्षेत्रलाई सफा, सुन्दर बनाउने सोच र सडकपेटी अतिक्रमणले बजार क्षेत्रका सडकमा सर्वसाधारणलाई हिडडुल गर्नसमेत अप्ठ्यारो हुने गरेको गुनासो आएपछि अतिक्रमित सडकपेटीलाई खाली गराउन देउखुरी उद्योग बाणिज्य संघ लमहीको सक्रियतामा लमहीमा अटोभिलेज निर्माण गर्न थालिएको हो । राजमार्ग क्षेत्रमा सडकपेटी अतिक्रमण गरि पसल सञ्चालन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालन गर्ने, विभिन्न किसिमका निर्माण तथा व्यवसायिक सामग्री थुपार्ने कार्य भइरहेको छ ।

जथाभावी पार्किङ र फुटपाथ व्यापारीका ठेलाले बजारको स्वरुप कुरुप बन्दै गएको भन्दै गत मंगलवार जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय दाङ, ईलाका प्रशासन कार्यालय लमही, वडा प्रहरी कार्यालय लमही, देउखुरी उद्योग वाणिज्य संघ लमही, र लमही नगरपालिकाले संयुक्त रुपमा गरेको बजारको निरिक्षण एवम् अनुगमनको गद स्थानीय व्यापारीहरुलाई बुधबाार देखि तिनदिन भित्र सडकपेटी खाली गर्ने निर्देशन दिइएको थियो ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीको नेतृत्वमा लमही अटो एसोशियनका प्रतिनिधि, स्थानीय अटोभिलेज व्यवसायी, वडा प्रहरी कार्यालय लमही, लमही नगरपालिका लगायतको टोलीले अटोभिलेज निर्माण गर्नको लागी प्रस्तावित जग्गा छनौटको अनुगमन गरेको थियो ।
अर्जुनखोलादेखि करिब पाँचसय मिटर दक्षिणतर्फ लमही नगरपालिका वडा नम्बर ६ र ७ सीमा क्षेत्रमा रहेको सामुदायिक वनमा रहेको छ विघा ऐलानी जग्गामा नयाँ अटोभिलेज निर्माण गर्न लागिएको छ । अटोभिलेज निर्माणसंगै वरपर संरक्षणको लागि धमाधम तारजाली लगाउने संघका अध्यक्ष खगेश्वर खनालले बताए ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीले पछिल्लो समय चालेको कदम स्वागत योग्य भएको अटो व्यवसायीहरुले बताएका छन् । लमही बजार क्षेत्रलाई नमुना योग्य बनाउनका लागि अटोभिलेज व्यवस्थापन गर्न आवश्यक रहेको हुँदा यसले आफुहरु खुसी भएको उनीहरुको भनाई छ ।
त्यस्तै नयाँ अटोभिलेज निर्माणाधिन स्थलमा ८६ वटा अटो पार्टस्, दुईवटा सार्वजनिक शौचालय, सिँचाइको लागी डिप बोरिङ्, मन्दिर, बस बिसौनी प्रतिक्षलय, छवटा क्यान्टिङ, बिजुली बत्तीको व्यवस्थापन गरिने लमही अटो ईञ्जिनियरिङ् एसोसियनका प्रतिनिधि भेष्मराज गैरेले जानकारी दिए ।

लमहीमा नयाँ अटोभिलेज निर्माण गर्नको लागि अनुमनित करिब दश करोड बजेट लाग्ने देखिन्छ । निर्माण कार्य सुरु भएदेखि सम्पन्न हुँदा सम्म दश करोड बजेट खर्चिने देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले बताए । अहिले राजमार्ग देखि नयाँ अटोभिलेज प्रवेशद्धारको लागि पुरानो बाटोलाई मर्मत गर्ने कार्य सुरु भएको छ ।

विभिन्न ठाउँ हुँदै लमही आएका सवारी साधनलाई सफा राख्नका लागि नयाँ अटोभिलेजभित्रै वासिङ सेन्टर स्थापना गरिने भएको छ । वासिङ सेन्टर स्थापनासँगै गाडीलाई सफा बनाउनका लागि सहयोग पुग्नेछ । सोलार बत्ती जडान र अपाङ्गमैत्री शौचालय निर्माण नयाँ अटोभिलेजलाई रातको समयमा उज्यालो बनाउनका लागि सोलार बत्ती जडान गरिने छ ।

सडकपेटी खाली गर्न अटेरी गरे कानुन बमोजिम कार्वाही गरिने दाङका प्रमुख जिल्ला अधिकारी रामबहदाुर कुरुम्वाङ्ले बताए । उनले सडकपेटी अतिक्रमण गरि व्यापार व्यवसायी गरेको जोकोहीलाई पनि सुरक्षाकर्मी परिचालन गरेर पक्राउ गरी कानुन बमोजिम कार्वाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

प्रकाशित मितिः आइतवार, साउन १७, २०७८     10:44:53 AM  |