प्रदेश प्रमुखले गरे पदबहाली, लुम्बिनी प्रदेश सरकारद्वारा बहिस्कार



कोहलपुर ।

लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गरेका छन् । शेरचनले शुक्रबार प्रदेश प्रमुख कार्यालय बुटवलमा पदबहाली गरेका हुन् ।

गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी प्रदेशको तेस्रो प्रदेश प्रमुखको रूपमा शेरचनलाई नियुक्त गरेकी थिईन् । शुक्रबार बिहान मात्रै काठमाडौंबाट रूपन्देही आएका शेरचनलाई प्रदेश प्रमुख कार्यालयका कर्मचारीहरुले पुष्प गुच्छाले स्वागत गरेका थिए । २०७६ कात्तिक १८ गते केपी ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेका धर्मनाथ यादवलाई शेरबहादुर देउवा सरकारले गत मंगलबार पदमुक्त गरि शेरचनलाई नियुक्त गरेको थियो ।

त्यसअघि २०७४ साल माघ ७ गते पहिलो लुम्बिनी प्रदेश प्रमुखको रुपमा नियुक्त भएका उमाकान्त झालाई केपी ओली नेतृत्वको सरकारले पदमुक्त गरि यादवलाई नियुक्त गरेको थियो । त्यतिबेला नै गण्डकी प्रदेश प्रमुख रहेका शेरचन हटाएर सीता कुमारी पौडेललाई नियुक्त गरिएको थियो ।

पदबहाल गर्दै प्रदेश प्रमुख शेरचनले संविधानभन्दा माथि कोही पनि नभएको र संविधान मिच्ने काम कहिकतैबाट हुन नहुने बताएका थिए । उनले संविधानलाई आफू अनुकुल व्याख्या गर्ने र मिच्ने काम कतैबाट गर्न नहुने र आफूले पनि जिम्मेवारीमा रहँदासम्म संविधानभन्दा बाहिर गएर कुनै काम नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसअघि गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी वहन गरिसकेका शेरचनले लुम्बिनी प्रदेश प्रमुखको रूपमा साझा सहमती र सहकार्यका साथ अगाडि बढ्ने समेत बताए । उनले कुनै पनि विवाद उत्पन्न हुने किसिमले आफूले काम नगर्ने र शान्ति र संवैधानिक तरिकाले प्रदेश चलाउने प्रतिवद्धता जनाएका हुन् ।

उनले गण्डकी प्रदेश प्रमुख रहँदा र हटाईदाको अवस्थाबारे स्मरण गर्दै अहिले फेरि देशको आवश्यकताले आफू लुम्बिनी प्रदेश आएको दाबी गरे । शेरचनले नेपालमा नयाँ प्रयोगको रुपमा संघीय व्यवस्था लागू गरिएको उल्लेख गर्दै तिनै तहका सरकारको सहकार्य र एकताले नै संघीयता कार्यान्वयनमा सफलता मिल्ने बताएका थिए ।

प्रदेश सरकारद्वारा बहिस्कार

प्रदेश प्रदेश शेरचनको पदभार ग्रहण कार्यक्रम लुम्बिनी प्रदेश सरकारले बहिष्कार गरेको छ ।

प्रदेशको सबैभन्दा उच्चपदस्थ व्यक्तिले पदभार ग्रहण गरिरहँदा केही मिटरको दूरीमा रहेको मुख्यमन्त्री कार्यालयमा सबैजसो मन्त्रीसमेतको सहभागितामा मुख्यमन्त्रीकै अध्यक्षतामा कार्यक्रम चलिरहेको थियो । तर सरकारका मन्त्री या कुनैपनि प्रतिनिधि प्रदेश प्रमुखको स्वागतमा आएनन् ।

शेरचनलाई आफ्नो कार्यालयका कर्मचारीले मात्रै स्वागत गरेका थिए । प्रदेश प्रमुखको स्वागतमा गौतमबुद्ध विमानस्थलमा पनि कोही सरकारी प्रतिनिधिहरू पुगेनन् । शेरचनलाई विमानस्थलमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरू र संघीय सरकारका प्रतिनिधि प्रमुख जिल्ला अधिकारी आशमान तामाङले स्वागत गरेका थिए ।

यसअघिका प्रदेश प्रमुख धर्मनाथ यादवको बिदाई समारोहमा पुगेका मुख्यमन्त्री शंकर पोख्रेल, आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्य लगायतका सरकारका प्रतिनिधिहरू नयाँ प्रदेश प्रमुखको पदभारग्रहण कार्यक्रममा नदेखिनुलाई सरकारले दलगत प्रतिशोध साँधेको भन्दै आलोचना गरिएको छ ।

नेकपा माओवादी केन्द्रका नेता वामदेव क्षेत्रीले प्रदेश प्रमुखको पदभार ग्रहण तथा स्वागत कार्यक्रममा सरकारी मन्त्री अथवा प्रतिनिधिहरू नदेखिनु पूर्वाग्रही सोच भएको बताए ।

उनले भने, ‘प्रदेश प्रमुख नियुक्त भैसकेपछि त साझा हो, तर सिंगो सरकार नै अन्देखाजस्तो गरेर नआउनु आफू अनुकुलको मर्यादा कायम गरेको जस्तो भयो ।’

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरी भने आफूहरुले औपचारिक जानकारी नपाएको भन्दै तर्क गर्छन् । उनले भने, ‘प्रदेश प्रमुखले कार्यभार सम्हाल्ने भन्ने औपचारिक जानकारी थिएन, अर्को कुरा हामीहरु आफ्नै काममा व्यस्त थियौं, हामी समीक्षा कार्यक्रममा थियौँ ।’

तर प्रदेश प्रमुखको कार्यालयले भने औपचारिक जानकारी पठाएको रहेछ । प्रदेश प्रमुखको कार्यालयका कार्यालय प्रमुख चिरञ्जीवि पौडेलले मुख्यमन्त्री कार्यालयका सचिवलाई नै भेटेर नयाँ प्रदेश प्रमुख आउने जानकारी गराएका थिए ।

मुख्यमन्त्री कार्यालयका सचिव खगेन्द्र सुवेदीलाई भेटेर प्रदेश प्रमुखको कार्यक्रमबारे जानकारी गराएको उनले बताए । एमालेको नेतृत्वमा सरकार रहेकाले सरकारले प्रदेश प्रमुखलाई अपहेलित गरेको भन्दै सरकारको सामाजिक सञ्जालमा आलोचना भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १६ गते शनिबार