नेपाल पत्रकार महासंघ बाँके शाखाले आचारसंहित भित्र रहेर काम गर्न सम्पूर्ण पत्रकारलाई आग्रह गरेको छ ।
शाखाले शुक्रबार प्रेस विज्ञप्ती प्रकाशित गरेर पत्रकार हौं भन्दै भन्सार, सीमा नाकाहरुमा जाने, मोबाइल क्यामेरा तेर्साउने, राती बिभिन्न सीमा क्षेत्रमा चेकजाँच गर्न जाने र पैसाको बार्गेनिङ्ग गर्ने तर, समाचार नलेख्ने जस्ता कार्य गरेको भनी महासंघ बाँकेमा जनगुनासाहरु धेरै आएकाले त्यस्तो नगर्न र पत्रकार आचारसंहिता भित्र रहेर समाचार संकलन एवं प्रकाशन, प्रशारण गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेको हो ।
बिहीबार मात्र पत्रकार हौं भन्दै पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा आशिष मल्ल ठकुरीसहित २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एबीपी क्राईम न्यूजको सञ्चालक तथा पत्रकार बताउने ठकुरी र सोही अनलाईनको संवाददाताको कार्ड राखेका राजन बैश्य रहेका छन् ।
नेपालगञ्जमा कार्यालय रहेको एबिपी क्राईम न्यूज नामक अनलाईन मिडियामा कार्यरत पत्रकार हौं भन्दै प्रहरीसँग पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
एबिपी क्राईम न्यूजको संवाददाताको परिचयपत्र राखेका राजन बैश्यले प्रहरीसँग ‘तपाईले पैसा लिइरहेको भिडियो मसँग छ’ भन्दै होटलमा बोलाएर एक लाख ६० हजार मागेपछि प्रहरीले बैश्य र मल्ललाई पक्राउ गरेको नेपाल पत्रकार महासंघ बाँके शाखाले जारी गरेको विज्ञप्तीमा उल्लेख रहेको छ । विज्ञप्तीमा लेखिएको छ, ‘एबिपी क्राईम न्यूज अनलाईनको आफुलाई सञ्चालक र पत्रकार बताउने मल्ल र राजन बैश्यलाई हिजो बिहीबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ ।
बैश्यले सबैका सामु प्रहरीसँग क्यामेरा किन्नलाई १ लाख ६० हजार मागेको स्वीकारेका छन् ।’ पत्रकार आचारसंहिताको पालना गर्न पटक–पटक अनुरोध गर्दै आइरहेको महासंघ बाँकेले पत्रकार हौं भन्दै पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा दुई पक्राउ परेपछि फेरी पत्रकार आचारसंहिता भित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारहरुलाई अपील गरेको हो । ‘आचारसंहिता भित्र रहेर समाचार लेखेकै कारण पत्रकारमाथि जुनसुकै पक्षबाट आउने धम्की, आक्रमणका विरुद्ध महासंघ सशक्तरुपमा अगाडी सर्दै आएको छ ।
पत्रकारको पेशागत एवं भौतिक सुरक्षाप्रति पत्रकार महासंघ बाँके सदैव गम्भीर छ ।’ जारी विज्ञप्तीमा अगाडी लेखिएको छ ‘तर, पत्रकारिता पेशाको नाम जोडेर अपराधजन्य क्रियाकलापमा संलग्न हुने, रकमको बार्गेनिङ्ग गर्ने, भिडियो र फोटो खिचेर समाचारका रुपमा प्रकाशन, प्रशारण नगरी ब्ल्याकमेल गर्ने जस्ता कार्यमा संलग्न भएको पाइएमा महासंघले वकालत गर्ने छैन ।
गल्तीको सजायको भागिदार स्वयम बन्नुपर्ने छ ।’ महासंघ बाँके शाखाका सचिव कमल डाँगीद्धारा जारी विज्ञप्तीमा पत्रकार हौं भन्दै धम्काउने, पैसाको बार्गेनिङ्ग गर्ने जस्ता कार्यले वास्तविक पत्रकारको पेशागत एवं भौतिक सुरक्षामा समेत असर पर्ने र पेशा नै बद्नाम हुने भएकाले त्यसलाई रोक्न अत्यावश्यक भइसकेकाले यस्ता कार्य नगर्न महासंघले अनुरोध गरिएको छ ।
उक्त कार्य कहीकतैबाट कसैले गरेमा महासंघ बाँकेमा खबर गर्न पनि सम्बन्धित सबैमा अनुरोध गरेको छ ।










प्रतिक्रिया दिनुहोस्