भोलिदेखि बुद्ध एअरको पोखरा–नेपालगञ्ज उडान



कोहलपुर ।

बुद्ध एअरले भोलि १७ साउनदेखि पोखरा–नेपालगञ्ज सीधा उडान गर्ने भएको छ। उडान साताका तीन दिन, आइतबार, बुधबार र शुक्रबार हुनेछ।

एअरका कम्युनिकेशन म्यानेजर दीपेन्द्र कर्णका अनुसार, पोखराबाट बिहान ९ बजेर १० मिनेटमा र नेपालगञ्जबाट पोखरा १० बजे उडान गरिनेछ। यात्रुको माग अनुसार, उडान संख्या थप हुँदै जाने कर्णले बताए ।

बुद्धले यसअघि उपत्यका बाहिरका शहर पोखरा–भरतपुर, पोखरा–भैरहवा र विराटनगर–तुम्लिङटार नियमित उडान भर्दै आएको छ। कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएको पोखरा–विराटनगर पोखरा–सिमरा र भरतपुर–भैरहवा उडान पनि छिटै शुरू गर्ने कम्पनीको भनाइ छ।

कम्युनिकेशन म्यानेजर कर्णका अनुसार, उपत्यका बाहिरको बढ्दो जनघनत्व, सरल र छिटो यात्रामा यात्रुको रुचि लगायत कारणले उडान गन्तव्य विस्तार गर्दै लगिएको हो।

बुद्ध एअरले अहिले काठमाडौंबाट भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा नियमित उडान गरिरहेको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १६ गते शनिबार