अमेरिकाको संसद भवनमा गएको जनवरी ६ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकबाट भएको आक्रमणको अनुसन्धानका लागि बनेको संसदीय समितिले सुनुवाई थालेको छ ।
मंगलबार पहिलो दिनको सुनुवाईमा जनवरी ६ मा सुरक्षाका लागि खटिएका प्रहरी अधिकारीहरुले समिति समक्ष प्रत्यक्षदर्शी बयान दिएका छन् ।
सुनुवाईमा प्रस्तुत भएका एक प्रहरी अधिकारीले घटनाको दिन आफू भिडबाट मारिने डरमा रहेका बताएका छन् ।
वासिङ्गटन डिसीमा भएको आक्रमणबाट सम्बन्धमा अनुसन्धानका लागि गठित संसदीय समितिमा प्रस्तुत भएका प्रहरी अधिकारी एक्वीलिनो गोनेलले भने, ‘त्यो बेला म यसरी नै मर्ने रहेछु भन्ने लागेको थियो ।’ यसो भनिरहँदा उनको आँखाभरि आँशु देखिएको थियो ।
संसदीय समितिमा सुनुवाईका लागि प्रस्तुत भएका अर्का प्रहरी अधिकारी ह्यारी डनले आफूमाथि रंगभेदी व्यवहार भएको बताएका छन् । उनी अश्वेत हुन् ।
एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको सो आक्रमणमा संलग्न भएको अभियोगमा अहिलेसम्म कम्तीमा ५३५ दंगाकारी पक्राउ परेका छन् । तर केही मात्रै दोषी ठहर भएका छन् ।
जनवरी ६ मा भएको सो आक्रमणपछि तत्कालीन राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लागेको थियो । तर उनी माथिल्लो सदन सिनेटबाट भने महाअभियोगबाट मुक्त भए । आक्रमण ट्रम्पको उक्साहटमा भएको सांसदहरुको भनाई छ । तर रिपब्लिकन ट्रम्पले सो कुरा अस्वीकार गर्दै आएका छन् ।
सो घटनाको अध्ययनका लागि बनेको हाउस सेलेक्ट कमिटिको सुनुवाई अधिकांश रुपमा डेमोक्र्याटहरुले गरेका छन् । अधिकांश रिपब्लिकनहरुले सुनुवाई प्रक्रिया बहिष्कार गरेका छन् । तर समितिमा दुई रिपब्लिकन सांसद भने छन् । लिज चेनी र एडम किन्जिङ्गर सुनुवाई समितिमा छन् । समितिका अरु सात सदस्य भने डेमोक्र्याटिक पार्टीका छन् ।
रिपब्लिकनहरुले सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतंककारी आक्रमणको अनुसन्धानका लागि बनाइएको जस्तै आयोग बनाउने प्रस्तावमा अवरोध गरेपछि संसदीय समिति बनाइएको हो ।
सुनुवाईमा सहभागी भएको प्रहरी अधिकारीहरुले जनवरी ६ मा संसद भवनको अवस्था युद्ध मैदान जस्तै रहेको बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्