कोहलपुर ।
बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्नको लागि पूर्वतयारी गरिएको छ । बाढी र डुबानबाट कमभन्दा कम क्षती होस् भनेर पर्याप्त तयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ । बाँके समेत बाढीको उच्च जोखिममा रहेकोले यस वर्ष पहिलेदेखि नै बाढीबाट सर्वसाधारणलाई जोगाउने तयारी गरिएको हो ।
बर्षातको समयमा बाढी र डुवानको जिल्लामा बढी जोखिम रहेकोले पूर्वतयारी पर्याप्त मात्रामा गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । जिल्लाका सबै स्थानीय तहमा विपद् उद्धार सामग्रीहरु राख्ने भण्डारण कक्ष रहेको बताउँदै उनले नेपालगञ्ज विमानस्थलमा मानवीय सहायता कक्ष स्थापना गरेर गोदाममा ठूलो परिमाणमा विपद् उद्धार सामग्रीहरु राखिएको बताए । विमानस्थलको गोदाममा गृह मन्त्रालय, केयर नेपाल र एक्शन एड नेपाल लगायतका संघसस्थाहरुले विभिन्न किसिमका २२ हजार सात सय ६९ थान सामग्रीहरु भण्डारण गरेर राखेका छन् । नेपालगञ्जस्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेको भण्डारण कक्षमा १०० सेट गैह्र खाद्य सामग्री तयारी अवस्थामा रहेको छ ।
नेपाल खाद्य संस्थान नेपालगञ्जमा ३५० मेट्रिक टन खाद्यान्न, साल्ट ट्रेडिङमा ३० हजार मेट्रिक टन नुन मौज्दात रहेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा गंगापुरमा पनि १०० गैह्र खाद्य सामग्री मौज्दात रहेको छ । जिल्लाका सबै स्थानीय तहहरुले समेत स्थानीय सुरक्षा निकायसँग समन्वय गरेर बाढी र डुबान भइहालेमा उद्दारका लागि सामाग्रीहरु तयारी अवस्थामा राखेका छन् ।
२५ सय जनशक्ति तयारी अवस्थामा
बाढी पीडितको उद्धारमा खटिनका लागि दुई हजार पाँच सय ५० जना तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको छ । नेपाली सेनाका ११५ जना जनशक्ति तालिमप्राप्त रहेका छन् । यस्तै नेपाल प्रहरीसँग १५ जना, सशस्त्र प्रहरीसँग ५० जना र नेपाल रेडक्रस सोसाइटी, बेस, बिगु्रप, बाँके युनेस्को क्लब, आइएनएफ आदि संस्थासँग २७३ जना तालिम प्राप्त जनशक्ति मौजुद रहेको बताइएको छ । यसबाहेक नेपाली सेनाका एक हजार, नेपाल प्रहरीका ७००, सशस्त्र प्रहरीका ८०० र रेडक्रस सोसाइटी, बेस, बिगु्रप, बाँके यूनेस्को क्लब, आइएनएफ आदि संस्थाका ५० जना जनशक्ति उद्धारमा खटिन तयार रहेको विपद् व्यवस्थापन समितिका सुचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यस वर्ष बाढीबाट २५ हजार घरपरिवार प्रभावित हुनसक्ने आंकलन गरेको छ । त्यसमध्ये २० हजार आंशिक र ५ हजार घरपरिवार पूर्ण प्रभावित हुनसक्ने आंकलन गरिएको हो । ५ हजार परिवार स्थायीरूपमा विस्थापित हुनसक्ने आकलन समितिले गरेको छ । सोही अनुसार नै योजना बनाएर कार्यान्वयनमा लगिएको विपद् व्यवस्थापन समितिका सुचना अधिकृत ज्ञवालीले बताए । ‘हामीले यसवर्ष बाढी र डुबानबाट प्रभावित हुनसक्ने मानिसहरुको सूची तयार गरिसकेका छौं’ उनले भने, ‘सोही अनुसार उद्दार र राहतको लागि काम भइरहेको छ ।’
तयारी अवस्थामा हेलिप्याड
जिल्लाका ८ वटै स्थानीय तहमा १९ वटा हेलिप्याडहरु तयारी अवस्थामा राखिएको छ । राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, डुडुवामा तीन, नेपालगञ्जमा दुई र अन्य स्थानीय तहमा एक–एक वटा हेलिप्याड रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिए । उनका अनुसार जिल्लामा १२ वटा रबरबोटहरु पनि तयारी अवस्थामा राखिएको छ । बाढी र डुबानमा परेकाहरुलाई उद्दारमा सहज होस् भनेर हेलिप्याडहरु तयारी हालतमा राखिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । खासगरी राप्ती नदी तटीय क्षेत्रमा ठूलो बाढी आउँदा स्थलमार्गबाट बाढीमा फसेकाहरुलाई उद्दारमा समस्या हुने भएकाले हेलिकोप्टर मार्फत उद्दार गर्नुपर्ने हुन्छ । सोही कुरालाई मध्यनजर गरेर यसवर्षदेखि जिल्लाका सबै पालिकाहरुमा हेलिप्याडहरु तयारी अवस्थामा राखिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्