18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

उत्तर प्रदेशमा डबल डेकर बसलाई ट्रेलरले ठक्कर दिँदा १८ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन १३, २०७८  

एजेन्सी ।

उत्तर प्रदेशको बाराबंकीस्थित लखनउ–अयोध्या राजमार्गको सडक छेउ रोकिएको डबल डेकर बसलाई तीव्र गतिमा आएको ट्रेलरले ठक्कर दिएको छ ।

मंगलबार राति भएको यो दुर्घटनामा १८ जना यात्रुको मृत्यु भएको छ भने २३ जनाभन्दा बढी घाइते भएका छन् । यसमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई लखनऊस्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । बस हरियाणाबाट बिहार गइरहेको थियो ।

दुर्घटना बराबंकीको रामसनेही घाट थाना क्षेत्रमा भएको थियो । बसमा १५० जना यात्रु सवार थिए । बाटोमा बिग्रिएको अर्को बसको यात्रुमा पनि सो बसमा चढेको बताइएको छ ।

ओभरलोड भएपछि बसको एक्सल भाँचिएको थियो । मर्मतका लागि ड्राइभरले बसलाई राजमार्गमा कल्याणी नदीको पुलमा रोकेका थिए । रातिको समय भएका कारण यात्रुहरू कोही बसमा त कोही बसको तल र छेउमा सुतेका थिए । राति साढे ११ बजे लखनऊबाट तीव्र गतिमा आएको ट्रेलरले बसलाई ठक्कर दियो ।

घटनापछि ट्रेलरका ड्राइभर घटनास्थलबाट फरार भएका थिए । दुर्घटनाका कारण राजमार्गमा ५ किलोमिटर लामो जाम भएको थियो । बसमा सवार यात्रुहरू बिहारको सीतामढी, सुपौलसहित अलग–अलग जिल्लाका रहेका थिए ।

उनीहरू सबै मजदुर रहेको र धानको रोपाइँका लागि आफ्नो गाउँ फर्किरहेको बताइएको छ ।

प्रकाशित मितिः बुधबार, साउन १३, २०७८     10:19:03 AM  |