19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

पानी परे पनि किन गर्मी ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन १०, २०७८  

अनियमित बिजुलीले गर्मीमा जनजीवन कष्टकर

काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि गर्मी छ । बेला-बेलामा वर्षा भइरहे पनि गर्मी बढेको छ।

तापक्रमसँगै वायुमण्डलमा सापेक्षिक आर्द्रता बढ्दा गर्मी बढेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार हिजो काठमाण्डौको तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । यसले गर्दा काठमाण्डौमा गर्मी महसुस भएको थियो । हिजो दिउँसो काठमाण्डौमा घाम चर्किएको थियो । बेलुका पानी परे पनि गर्मी भने कायमै थियो ।

मौसमविद् पौडेल भन्नुहुन्छ : ‘वायुमण्डलमा पानीको मात्रा बढ्दै जाँदा सापेक्षित आर्द्रता पनि बढ्दै जान्छ । वायुमण्डलमा सापेक्षित आर्द्रता बढ्दा गर्मी बढ्छ ।’ मौसमविद्का अनुसार वायुमण्डलमा ६० प्रतिशत भन्दा बढी पानीको मात्रा भए सापेक्षित आर्द्रता बढेको मानिन्छ ।

अहिले वायुमण्डलमा ९०–९५ प्रतिशतभन्दा धेरै पानीको मात्रा रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । मनसुन केही कमजोर हुँदा हिजो र अस्ति काठमाण्डौ उपत्यका लगायत देशका धेरै ठाउँमा कम पानी परेको छ । केही ठाउँमा एकै पटक ठूलो पानी परे पनि धेरै ठाउँमा हल्कादेखि मध्यम खालको मात्रै वर्षा भएको छ ।

पानी परेका ठाउँमा केहीबेर शीतल भएको महसुस गरिए पनि गर्मी भने घटेको छैन । हिजोको तुलनामा आज भने गर्मी केही कम हुने अनुमान छ । आज दिउँसो पछि मनसुन फेरि थप सक्रिय हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

आज काठमाण्डौको अधिकतम तापक्रम २९ डिग्री सेल्सियस पुग्ने अनुमान छ । अब एक/दुई दिन लगातारजसो पानी पर्ने सम्भावना रहेकाले गर्मी कम हुने तर बाढी पहिरोको जोखिम पनि बढ्ने मौसमविद्ले बताएका छन् । आज प्रदेश नम्बर १ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । भोलि वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

प्रकाशित मितिः आइतवार, साउन १०, २०७८     7:49:33 AM  |