कोहलपुर ।
देशभर पछिल्लो २४ घण्टामा शुक्रबार थप २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ६९८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८२ र ३ हजार ६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७६ हजार ७०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६७८ जना निको भएर घर फर्किएका थिए ।
योसँगै अहिलेसम्म ६ लाख ३९ हजार ३६८ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । यस्तै कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६७९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै काठमाडौंमा ४१०, झापामा ३०१, चितवनमा १८६, कास्कीमा १७६, ललितपुरमा १३४ र सुनसरीमा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै मोरङमा ९५, भक्तपुरमा ६९, नवलपरासी पूर्वमा ६६, मकवानपुरमा ४२, रुपन्देहीमा ३४, नुवाकोटमा ३३, गोरखामा ३०, दाङमा २९, बागलुङमा २६ जनामा कोरोना संक्रमण देखिएको हो । धनकुटा र म्याग्दीमा १६÷१६ जना, इलाममा १३, काभ्रेपलाञ्चोमा १२, रामेछाप र तनहुँमा ११÷११ जना र धादिङमा १० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ जना रहेको थियो ।
जसमध्ये २४ हजार ९८३ जना होम आइसोलेसनमा रहेका थिए भने २ हजार ६७८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८२ जना आईसीयू र १७५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ५६ बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्