कोहलपुर ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालत गुलरियाले फरक फरक मितिमा कैद र जरिवाना फैसला सुनाएका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बहु–विवाह मुद्दामा ७ महिना १२ दिन कैद सजाय तोकिएका बारबर्दिया नगरपालिका वडा नम्बर, ५ का यम बहादुर थारु रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हेम बहादुर शाहीले जानकारी दिए ।
उनलाई बर्दिया जिल्ला अदालत गुलरियाले २०७३ असार १४ गते बहु–विवाह मुद्दामा ७ महिना १२ दिन कैद सजायको फैसला गरेको थियो । सोही बेलादेखि नै उनी फरार रहेका थिए । थारुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा ईलाका प्रहरी कार्यालय बाँनियाभार बर्दियाको प्रहरी टोलीले विरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ सुर्खेतबाट पक्राउ गरेको थियो । यस्तै पक्राउ पर्नेमा अंश सहितको सम्बन्ध बिच्छेद मुद्दामा फरार रहेका बारबर्दिया नगरपालिका वडा नम्बर ७ बस्ने भगवती थापा रहेको प्रहरीले जनाएको छ ।
बर्दिया जिल्ला अदालत गुलरियाको २०७१ चैत्र ३ गतेको फैसलाले थापालाई आदेशले अंश सहितको सम्बन्ध बिच्छेद मुद्दामा ४ हजार ४७३ कोर्ट फी भुक्तान गर्न आदेश दिएको थियो । सोही बेलादेखि फरार उनलाई ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्