शिवु खनाल । दाङ ।
दाङको राजपुर गाउँपालिका वडा नम्बर, ३ भैसाहका फुर्तिराम चौधरीले सम्पत्ती पाउने आसैआसमा दिक्दार छन् । उनी अहिले ३९ वर्षका भए । जान्ने बुझ्ने भएपछि आफ्नो सम्पत्ति खोज्न सुरु गरेका उनले आजसम्म अड्डा अदालत, प्रहरी प्रशासन धाइरहेका छन् । फुर्तिरामले त सम्पत्ती पाएका छन् । अझ उनका बुवा भगवती अहिर र बाजे गंगाराम अहिरकै नाममा सम्पत्ती आएको छ । आफ्ना बुवाको नाममा सम्पत्ती आफ्नो नाममा ल्याउन नपाउँदै बाजे गंगाराम र बुवा भगवतीको मृत्यु भयो । फुर्तिरामका जिजु गुल्जार अहिरबाट बाजेमा सम्पत्ती नआएपछि पुस्तासम्म आउँदा तीन पुस्ता बितिसक्यो ।
खासमा फुर्तिरामले जिजु गुल्जारको नाममा भएको १३ विगाहा ७ कठ्ठा ७ धुर जग्गा पाएका छैनन् । फुर्तीरामका चार भाई रहेका छन् । तीमध्ये एक जना वेपत्ता भएपनि अन्य तीन भाईले अंश नै नपाएको उनले गुनासो गरे । उनका जेठा बाजे र कान्छा बाजेका छोरा र नातीहरुले आफुहरुलाई सम्पत्ती नदिएको फुर्तिराम बताउँछन् । ‘सोझो जमानामा हामी अधिकारको लागि धेरै भाइभारदारमा रिसराग राखेनौ । नत बुवा बाजेले राख्नुभयो । जसको कारण पुर्खौली सम्पत्तीबाट समेत बन्चित हुन पुग्यौ’ उनले भने, ‘विषयमा आफु प्रहरी प्रशासन र अड्डा अदालत सम्म धाएको भएपनि प्रकृया थाहा नहुँदा केही गर्न सकेन ।’
‘हामी सोझो मान्छेलाई मुद्धा मामिला गर्न सारै अप्ठेरो हुँदो रहेछ । वकीललाई दिने पैसा नहुँदा काम गर्न सकेको छैन’ उनले अगाडि थपे । नाता प्रमाणित नहुँदा आफुहरुले सम्पत्ती पाउन नसकेको गुनासो फुर्तिरामसहितका तीन भाईको रहेको छ । यता राजपुर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामछोरे यादवले फुर्तिरामको नाता प्रमाणित गर्न आलटाल गरिरहेका छन् । प्रहरी प्रशासनको सामु भोली नै गर्छु भने भनेपनि अर्कोदिन नाता प्रमाणित नगराई दुःख दिइरहेको फुर्तीरामले बताए ।
उनी वडाअध्यक्षकै आलटालका कारण आफुले नाता प्रमाणित गराउन नसकेको र अंशबण्डा नपाएको बताउँछन् । वडाअध्यक्ष यादवले भने फुर्तिरामका एकजना भाई वेपत्ता रहेकाले नाता प्रमाणित गर्न समस्या रहेको बताए । ‘एकजना भाई वेपत्ता भएका कारण नाता प्रमाणित गर्न समस्या भएको हो’ उनले भने, ‘अब म वेपत्तासहितको नाता प्रमाणित गर्न तयार छु ।’
अध्यक्ष यादवका अनुसार फुर्तिरामका बाजेले सम्पत्ती नजोरेको र कान्छा र जेठा बाजेले थप सम्पत्ती जोरेका कारण अंशबन्डा नभएको जानकारी आफुलाई आएको बताउँछन् । यस्तै ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवासले जनप्रतिनिधिले नाता प्रमाणित गर्न कन्सुस्याई गर्न नहुने बताए । ‘जनप्रतिनिधिले चिनाउन नसके समाजले चिनाउनुपर्छ । अहिलेको बैज्ञानिक युगमा नाता प्रमाणित गर्न गाह्रो
छैन । डिएनए परीक्षणसम्म जानुभन्दा समाजमै बसेर समाधान गर्नुपर्छ’ उनले भने ।









प्रतिक्रिया दिनुहोस्