शिवु खनाल । दाङ ।
दाङको लमही कोइलाबास हुलाकी राजमार्ग सडक खण्ड अन्तरर्गत गढवा जोड्ने सल्याप्स कल्भर्ड भाँचिदा हुलाकी राजमार्ग अवरुद्ध भएको छ । बाँया पट्टीको भाग करिब १ फिट तल सल्याप्स कल्भर्ड लच्किएको हो । सडक बन्द हुँदा लमही कोइलाबास हुलाकी राजमार्ग सडक खण्ड अन्तरर्गत लामो दुरीका यात्रु अलपत्र परेका छन् । लमही नगरपालिका वडा नम्बर ५ कोलही गाउँ नजिकै रहेको बगै सोता खोलाको सल्याप्स कल्भर्ड बुधबार दिउँसो गढवादेखि लमहीतर्फ गैरहेको मालबहाक टिप्परले पुल क्रस गरे लगत्तै भाँचिएको प्रत्यक्षदर्शी किसन भट्टराईले जानकारी दिए ।
सल्याप्स कल्भर्ड भाँचिए पनि लच्किएको ठाउँबाट जबरजस्ती सवारीसाधन गुडाउँदा दुर्घटनाको खतरा बढेको छ । अहिले उक्त सडक भएर गढवा तर्फ जाने र लमही तर्फ आउने ठप्प भएपछि सवारीसाधन बनगाउँ भएर जानू पर्ने बाध्यता भएको छ । लमही गढवा जोड्ने सल्याप्स कल्भर्ड भाँसिएपछि अहिले सवारीसाधन आवागमन पूर्णरुपमा बन्द गरिएको छ । रूखका झार र ढुंगा थुपारेर बाटो बन्द गरिनुका साथै आगमनमा रोक लगाइएको छ ।
लमही कोइलाबास जोड्ने सल्याप्स कल्भर्ड निर्माण भएसँगै ती दुई पालिका क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो । यता वडा प्रहरी कार्यालय लमहीका पुरान मल्लले कल्भर्डमा पहरा दिइरहेको जानकारी दिए । मर्मत सम्भारमा ध्यान नदिदा र दिनहुँ मालबहाक टिप्पर आवतजावत गर्दा लमही कोइलाबास हुलाकी राजमार्ग सडक खण्ड अन्तरगत गढवा जोड्ने सल्याप्स कल्भर्ड भाँचिएको स्थानीयहरुले बताएका छन् । आवागमन बन्द भएपछि सयौं सवारी अलपत्र छन् ।
अस्थाई ट्राफिक पोष्ट कार्याल लमहीका अनुसार उक्त राजमार्ग भएर दैनिक दुई हजारभन्दा बढी गाडी गुड्छन् । यता दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सल्याप्स कल्भर्ड भाँचिएको स्थानबाट सवारी चलाउन मिल्ने नमिल्ने र भाँसिएको सल्याप्स कल्भर्ड तत्कालै मर्मत प्रयासको लागी हुलाकी सडक आयोजना विभागमा जानकारी गराइसकिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्