कोहलपुर ।
बाँकेको कोहलपुरमा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका, १० मा रहेको डुडुवा खोला (बन्दा) मा बुधबार साँझ पौडी खेल्ने क्रममा डुबेर तीन युवाको ज्यान गएको हो । नेपालगञ्जबाट पौडी खेल्नको लागि पाँच जनाको समूहमा आएका मध्ये तीन जनाको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
पौडी खेलिरहेका पाँच जनामध्ये तीन जना बन्दाको बाँधमा रहेको छहराबाट तल खसेका थिए । छहराबाट तल खसेका तीनै जनाको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए । मृत्यु हुनेमा नेपालगञ्ज उप–महानगरपालिका, ११ का १८ वर्षीय राशिद जसगर, सोही ठाउँका १८ वर्षीय अरमान जसगर र १६ वर्षीय आरिफ जसगर रहेको कोहलपुर प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा बन्दामा तीन युवा डुबेको खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय कोहलपुरको टोली उद्दारको लागि पुगेको थियो । उद्दारमा खटिएको प्रहरी टोलीले खोलाबाट तीनै जनालाई मृत अवस्थामा बाहिर निकालेको थियो । मृतक तीनै जना सुनका गरगहना बनाउने कालिगढ रहेको खुलेको कोहलपुर प्रहरीले जनाएको छ ।
बुधबार बकर इदको बिदा भएकाले घुम्दै पौडी खेल्नको लागि कोहलपुरमा रहेको बन्दामा पुगेका थिए । प्रहरीले मृतक तीनै जनाको शवलाई पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको थियो । घटनाबारे अनुसन्धान अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्