कर्णालीमा बढ्यो कोरोना



सुर्खेत ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा मंगलबार थप १०७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । ७६ जनामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणका क्रममा ३५ जना र २४१ जनामा गरिएको एन्टिजेन विधिबाटको कोरोना परीक्षणका क्रममा ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो पछिल्लो एक साताको तुलनामा निकै बढी रहेको छ ।

पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोनाका बिरामीहरू बढ्न थालेको जनस्वास्थ्यविद्ले बताउँछन् । सुर्खेत, दैलेखको तुलनामा पछिल्लो समय हिमाली जिल्लाहरूमा कोरोना संक्रमणदर बढेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । मंगलबार सबैभन्दा धेरै हिमाली जिल्ला मुगुमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मुगुमा कोरोना संक्रमण देखिएका व्यक्तिलाई एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । त्यसपछि जुम्लामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ । जुम्लामा असार पहिलो सातासम्म कोरोना संक्रमितको संख्या न्यून रहेको थियो । यस्तै रुकुम पश्चिममा १५, कालिकोटमा १३, सुर्खेतमा ५, हुम्लामा ५, सल्यानमा ३ र अन्य १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काले बताए ।

यस्तै मंगलबार ८३ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका थिए । योसँगै कर्णाली प्रदेशभर सक्रिय संक्रमितको संख्या ७१५ रहेको छ । मंगलबार कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको उपचारकै क्रममा मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २४८ पुगेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ६ गते बुधबार