कोहलपुर ।
बाँकेमा कोरोनाको दोस्रो भेरियण्टको प्रभाव घटेसँगै जिल्लाका दुई पालिकामा सक्रिय संक्रमित शून्य भएका छन् । कोरोनाको दोस्रो भेरियण्टको धेरै प्रभावमा परेको जिल्लामा संक्रमणदर घटेसँगै दुई पालिकामा सक्रिय संक्रमितदर शून्य भएको हो । जिल्लाका नरैनापुर र जानकी गाउँपालिकामा सक्रिय संक्रमित शून्य रहेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
दुवै पालिकामा सक्रिय संक्रमित शून्य रहेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन तेज ओलीले बताए । ‘कोरोनाको दोस्रो भेरियण्ट फैलिएपछि जिल्लाका दुई पालिकामा सक्रिय संक्रमित पहिलोपटक शून्य भएको हो’ उनले भने, ‘पछिल्ला दिनहरुमा कोरोना संक्रमणदर घटिरहेकाले संक्रमित संख्या समेत घट्दैछ ।’ मंगलबारसम्म बाँकेमा सक्रिय कोरोना संक्रमितको संख्या ५७ जना रहेको थियो ।
तीमध्ये २२ महिला र ३५ पुरुष रहेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । बाँकेमा उपचाररत बाहिरी जिल्लाका सक्रिय संक्रमित संख्या १४ जना रहेको छ । जिल्ला भित्र र बाहिरी जिल्लाका गरेर होम आइसोलेसनमा रहनेको संख्या १९ महिला र २९ पुरुष गरेर ४८ जना रहेको फोकल पर्सन ओलीले जानकारी दिए । ५ महिला र १३ पुरुष गरेर १८ जनाको भने भेरी अस्पतालको कोभिड वार्डमा उपचार भइरहेको छ ।
५ डिस्चार्ज, ४ थपिए
पछिल्लो २४ घण्टामा मंगलबार बाँकेमा थप ५ जना कोरोना जितेर घर फर्किएका थिए । १ महिला र ४ पुरुष गरेर ५ संक्रमित कोरोना जितेर घर फर्किएका हुन् । योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या १७ हजार १ सय ८९ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन ओलीले बताए ।
उनका अनुसार कोरोना जितेर घर फर्किनेहरुमा ७ हजार ३ सय २४ महिला र ९ हजार ८ सय ६५ पुरुष रहेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमित थपिएका थिए । जिल्लाका ती प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ५ सय ६२ पुगेको छ । तीमध्ये ७ हजार ४ सय ८० महिला र १० हजार ८२ पुरुष रहेका छन् । मंगलबार बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ७ महिला र १२ पुरुष गरेर १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लाका अस्पतालमा अहिलेसम्म उपचारका क्रममा जिल्लाभित्र र बाहिरी जिल्लाका गरेर ६ सय ९५ जना संक्रमितको मृत्यु भइसकेको छ ।
तीमध्ये २ सय ५१ महिला र ४ सय ४४ पुरुषहरु रहेका छन् । संक्रमणका कारण बाँकेका १ सय ३६ महिला र १ सय ८५ पुरुष गरेर ३ सय २१ जनाको मृत्यु भइसकेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ । बाहिरी जिल्लाबाट उपचारका लागि रिफर भएर आएका संक्रमितमध्ये ३ सय ७४ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । तीमध्ये १ सय १५ महिला र २ सय ५९ पुरुष रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्