बाँसगढीमा मालपोतको शाखा



बर्दिया ।

बर्दियाको बाँसगढी नगरपालिकामा भु–सेवा सम्बन्धी सम्पूर्ण कामहरु हुने भएका छन् । सोमबारदेखि नगरपालिकामा भु–सेवा केन्द्र सञ्चालनमा आएसँगै अबदेखि सबै कामहरु यहीबाट हुने भएका हुन् । भु–सेवा केन्द्रको एक कार्यक्रमका बीच बाँसगढी नगरपालिका प्रमुख शालिकराम अधिकारीले उद्घाटन गरेका थिए ।

नगर प्रमुख अधिकारीलाई मालपोत कार्यालय बर्दियाका प्रमुख भिम बहादुर खत्रीले अनुमति पत्र हस्तान्तरण गरेसँगै सेवा सुचारु भएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख अधिकारीले अबदेखि बाँसगढीका स्थानीय भु–सेवा सम्बन्धी कामको लागि गुलरिया जानुपर्ने बाध्यता हटेको
बताए । ‘संघियताको मर्म अनुसार नै मालपोतबाट यसअघि हुने गरेका अधिकांश कामहरु अब यहीबाट हुनेछन्’ उनले भने, ‘अब भु–सेवा सम्बन्धी काम लिएर गुलरिया पुग्नुपर्ने बाध्यता रहेन ।’

मालपोत कार्यालय बर्दियाका प्रमुख भिम बहादुर खत्री पहिले कार्यालयबाट हुने ७० प्रतिशत बढी कामहरु अबदेखि नगरपालिकाबाट नै हुने जानकारी दिए । ‘अब मालपोत कार्यालयबाट हुँदै आएका कामहरु भु–सेवा केन्द्रबाट नै हुनेछन्’ उनले भने, ‘केही कामको लागि मात्र यहाँका नागरिक गुलरिया जानुपर्ला, नत्र सबै कामहरु यहीबाट हुन्छन् ।’ भु–सेवा केन्द्र उद्घाटन कार्यक्रमका जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही लगायतहरुको उपस्थिती रहेको थियो । बाँसगढी नगरपालिकामा स्थापना गरिएको भु–सेवा केन्द्रको लागि मालपोत कार्यालय बर्दियाबाट नै कर्मचारीहरु खटाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ५ गते मंगलबार