20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

खैरो हेरोइनसहित वडाध्यक्ष पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन ४, २०७८  

काठमाडौं  : पर्साको पकाहा मैनपुर गाउँपालिका– १ वडाध्यक्ष ुअम्बिकाु भनिने अमेरिका सहनीसहित तीनजना लागुऔषध खैरो हेरोइन ब्राउन सुगर सहित पक्राउ परेका छन्।

प्रहरीले उनीसँगै रहेका वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय रामआदेश सहनीलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

वीरगञ्जबाट पोखरियातर्फ जाँदै गरेका उनीहरूलाई साउन ३ गते राति साढे १० बजे वीरगञ्ज महानगरपालिका–१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक दीपक थापाका अनुसार वडाध्यक्ष अमेरिकाले चलाएको ना १ ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर नजिकै ७९ ग्राम लागुऔषध खैरो हेरोइन फेला परेको थियो। उनीसँगै वडा सदस्य बलिष्टर ना ६२ प १९४२ नम्बरको मोटरसाइकल चलाएर पोखरिया जाँदैथिए भने राम आदेश वडा सदस्यको मोटरसाइकलको पछाडि बसेर आएका थिए।

प्रहरीले खैरो हेरोइन, मोटरसाइकलसहित नियन्त्रणमा लिएका तीनै जनाविरुद्ध लागु औषध मुद्दामा आवश्यक कारबाही शुरू गरिने जनाएको छ।

प्रहरीका अनुसार वडा सदस्य बलिष्टर १ वर्ष अघिमात्रै लागुऔषध गाँजा मुद्दामा धरौटीमा छुटेका थिए भने वडाध्यक्ष अमेरिका पनि विभिन्न गैरकानुनी तथा अपराधिक गतिविधिमा संलग्न भएको रेकर्ड प्रहरीसँग छ।

प्रकाशित मितिः सोमवार, साउन ४, २०७८     11:25:00 AM  |