कोहलपुर ।
बाँकेको कोहलपुरमा शनिबार राती एक वृद्धा महिलाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ । कोहलपुर नगरपालिका, ११ एकतानगरकी ८२ वर्षीया साउनी कार्कीको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसूदन न्यौपाने हत्या गरिएको अवस्थामा वृद्धाको शव बेडमा नै फेला परेको जानकारी दिए ।
‘बिहानै ६ बजेतिर घटनाबारे खबर आएपछि कोहलपुरबाट डिएसपी सापको कमाण्डमा तत्कालै टोली पुगेको थियो’ उनने भने, ‘त्यसपछि जिल्लाबाट एसपी साप समेत आफै घटनास्थलमा पुग्नुभएको थियो ।’
प्रहरी नायब उपरीक्षक न्यौपानेले प्रारम्भिक अनुसन्धानबाट वृद्धाको हत्या भएको देखिएको बताए । ‘प्रारम्भिक अनुसन्धानबाट हामीले महिलाको कसैले कर्तव्य गरेको पाएका छौं’ उनले भने, ‘सोही अनुसार नै हामीले विभिन्न कोणबाट अनुसन्धान थालिसकेका छौं । केही दिनमा केही कुरा बाहिर आउँला ।’ ८२ वर्षीया वृद्धाको शव हत्या गरिएको अवस्थामा आइतबार बिहान ओछ्यानमा नै फेला परेको थियो ।
वृद्धाको टाउकोमा गहिरो चोट लागेकोले प्रहरी कसैले हत्या नै गरेको हो भन्ने निचोडमा पुगेको हो । टाउकोको दाइने साइटमा करिब चार इन्च लामो गहिरो चोट रहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले मिसन टुडेलाई जानकारी दिए ।
‘मृतकको टाउकोमा चार इन्चको चोट देखिएको छ’ उनले भने, ‘कुनै धारिलो हतियारले हानेको देखिन्छ ।’ घटनास्थलबाट प्रहरीले कुनै हात हतियार भने पाउन सकेको छैन । घर नजिकै रहेको मकैबारीबाट भने धाराको एउटा ह्याण्डिल भने बरामद गरेको छ ।
‘घटनास्थलबाट प्रहरीले कुनै शंकास्पद बस्तुहरु फेला पारेको छैन’ प्रहरी नायब उपरीक्षक न्यौपानेले मिसन टुडेसँग भने, ‘मकैबारीबाट एउटा धाराको ह्याण्डिल फेला परेको छ । अनुसन्धानको लागि त्यसलाई समेत राखेका छौं ।’ रातभरी र बिहान समेत पानी परेकोले धाराको ह्याण्डिलले हानेर महिलाको हत्या गरिएको भएपनि पानीले रगत पखालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
उनका अनुसार हत्या गरिएकी महिलाले चार आनाको सुन तिलहरी लगाएको पारिवारिक सदस्यले जानकारी दिएको बताए । ‘मृतकले कानमा लगाएका गहनाहरु कानमा नै छन्’ उनले भने, ‘पारिवारिक सदस्यका अनुसार उहाँले लगाएको तिलहरी नै भेटिएको छैन ।’
हत्या गरिएकी वृद्धा नेकपा माओवादी केन्द्र निकटको वाईसीएल बाँकेका संयोजक आकाश कार्कीको आमा हुन् । अनुसन्धानको दायरालाई फराकिलो बनाएर आफुहरु लागिपरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
अलमलमा प्रहरी
प्रारम्भिक अनुसन्धानबाट घटनाबारे केही सुराक नमिलेपछि प्रहरी अलमलमा परेको छ । राती १२ देखि २ बजेभित्र हत्या भएको निचोडमा प्रहरी पुगेपनि घटनास्थलमा शंकास्पद केही फेला नपरेपछि प्रहरीलाई समस्या भएको हो ।
रातभर र बिहान समेत भारी वर्षा भएका कारण घटनास्थलमा प्रहरीले तालिमप्राप्त कुकुर समेत परिचालन गर्न नसकेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । ‘पानी परेकाले कुकुर परिचालन गरेपनि प्रभावकारी नहुने भएकाले नजिकै तालिमप्राप्त कुकुर हुँदासम्म समेत प्रयोग गर्न सकेनौं’ उनले भने, ‘तर पनि हामीले अनुसन्धान सुक्ष्म रुपमा गरिराखेका छौं ।
केही दिनमा केही पक्कै खुल्छ ।’ यसअघिका ठूला घटनाहरुमा प्रहरीले तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धानको लागि प्रयोग गर्ने गरेको थियो । कुकुरले दिएको सुराककै आधारमा धेरै घटनामा प्रहरीले सफलता प्राप्त गरेका उदाहरणहरु रहेका छन् । यो घटनाको अनुसन्धानको लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली (आरआइटी), जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुरका टोलीहरु खटिएका छन् ।
आइतबार दिनभरको अनुसन्धानबाट केही सुराक नमिलेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले मिसन टुडेलाई जानकारी दिए । ‘तीन वटै प्रहरी कार्यालयका टोली अनुसन्धानमा त खटिएका छौं’ ती अधिकारीले भने, ‘लागु औषध प्रयोगकर्ता लगायतका केही व्यक्तिलाई ल्याएर सोधपुछ गरेपनि खासै प्रगती हुन सकेको छैन ।’
आइतबार नै अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले एक दर्जन बढी शंकास्पद युवाहरुलाई ल्याएर सोधपुछ गरेका थिए । केही युवाहरुको साथबाट लागु औषध समेत बरामद भएको प्रहरीले जनाएको छ । अनुसन्धानको लागि तीनै प्रहरी कार्यालयबाट ठूलो संख्यामा कोहलपुरमा प्रहरीहरु खटिएका छन् ।










प्रतिक्रिया दिनुहोस्