काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक केहीबेर अघि सुरू भएको हो।
केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक बोलाइएको हो । यही साउन ४ गते १४ औँ केन्द्रीय कमिटी बैठक सोही स्थान बिहान ११ बजे बोलाइएको छ।
आइतबारको बैठकमा माधव नेपाल पक्षका नेतालाई समेत डाँकिएको भएपनि यो समूह भने बैठकमा उपस्थित छैन।
एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ।
शुक्रबार एमाले स्थायी कमिटी बैठक बसेको थियो। शुक्रबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी भए पनि बीचमै बैठक छोडेर बाहिरिएको थियो।
बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो। शुक्रबारको बैठकमा अध्यक्ष केपी ओलीसँग राखेका मागको सुनुवाइ नभएको भन्दै नेपाल समूह बैठकस्थलबाट बाहिरिएको थियो।
यसैबीच पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आइतबार बेलुका ४ बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन्।










प्रतिक्रिया दिनुहोस्