आज भेरोसेलको खोप लगाइदैं



कोहलपुर ।

बाँकेमा आजदेखि भेरोसेलको पहिलो मात्रा लगाउन सुरु गरिने भएको छ । जिल्लाका सबै स्थानीय तहमा भेरोसेलको पहिलो मात्रा लगाउन थालिएको हो । आजदेखि मंगलवारसम्म सरकारले निर्धारण गरेको लक्षित समुहलाई भेरोसेलको पहिलो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जिल्लाका चार पालिकामा आइतवारदेखि खोप लगाइने जानकारी दिए । उनका अनुसार जिल्लाका राप्तीसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र बैजनाथ गाउँपालिकामा भेरोसेल खोपको पहिलो डोज दिईनेछ । ‘चार पालिकाको लागि हामीले सबै तयारी पूरा गरिसकेका छौं’ खोप अधिकृत शर्माले भने, ‘जिल्लाका अन्य चार पालिकामा भने अर्को चरणमा एकैसाथ सुरु गरिनेछ ।’

नेपालगञ्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा भने एक सातापछि खोपको पहिलो डोज लगाउन सुरु गर्ने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाँकेले जानकारी गरेको सूचनामा उल्लेख रहेको छ । यी चार पालिकामा साउन १० गतेदेखि १२ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम तय भएको खोप अधिकृत शर्माले बताए ।

आजदेखि जिल्लामा सुरु गर्न लागिएको अभियानमा ५५ वर्ष र सो माथिका उमेर समूहलाई खोप लगाईने छ । त्यस्तै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सह–चालकलाई समेत भेरोसेलको पहिलो मात्रा खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

जिल्लाका चार पालिकाले आफुलाई पायक पर्ने खोप केन्द्रमा गएर खोपको पहिलो मात्रा लगाउन लक्षित समुहलाई आग्रह गरेका छन् । अधिकांश पालिकाहरुले वडामा नै खोप लगाउने गरी व्यवस्थापन मिलाएका छन् ।
,

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ३ गते आइतबार