16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

लुम्बिनी प्रदेश सभा बैठक, बाहिरिए सत्ता पक्षका सांसद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन १, २०७८  

बुटवल ।

लुम्बिनी प्रदेश सभा बैठक छाडेर सत्ता पक्षका सांसद बाहिरिएका छन् ।

बिहीवार बसेको प्रदेशसभा बैठकलाई मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरेलगत्तै सत्तापक्षका सांसदहरु बैठक कक्षबाट बाहिरिएका थिए । सत्तारुढ दल एमालेका सांसदहरु बाहिरिएपछि अलमलमा परेका सभामुख पुर्णबहादुर घर्तीले थप छलफलका लागि भन्दै बैठक स्थगित गरेका छन् ।

यसअघि प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका ४ जना सांसदको मुद्दा अदालतमा विचाराधीन रहेकाले अझै धैर्य गर्न विपक्षी दलहरुलाई आग्रह गरेका थिए । उनले प्रदेशवासीको आकांक्षा पूरा गर्न बजेट महत्वपूर्ण रहेको भन्दै बजेट पास गर्नका लागि सहयोग गर्न पनि विपक्षी दलहरुलाई आग्रह गरेका थिए । उनले संविधानको अर्को धारा अनुसार नयाँ सरकार गठनका लागि आफ्नो रुची नभएको पनि बताए ।

बैठकमा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले सभामुखसँग छलफलका लागि थप समय माग गरेका थिए । विक्षीहरुले छलफलमा बस्न अस्वीकार गर्दै बजेटलाई निर्णयार्थ पेश गरी प्रक्रियामा लैजान माग गर्दै आएका थिए ।

तर सभामुख पूर्णबहादुर घर्तिले समय उपलब्ध नगराएपछि मुख्यमन्त्री, मन्त्रीहरु र सत्तापक्षका सबै सांसदहरुले बैठक बहिष्कार गरी बाहिरिए । प्रदेशसभा बैठकबाट एकाएक बाहिरिएको सत्तापक्ष बैठक कक्षमा नफर्किएपछि लुम्बिनी प्रदेशसभा बैठक आज शुक्रवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७८/८९ को बजेट पेस गरेको थियो । उक्त बजेटलाई प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहे पनि सत्ता पक्षका सांसदहरु प्रदेशसभाबाट बाहिरिएका हुन् ।

बिहीवारको बैठकमा लुम्बिनी प्रदेशसभामा सत्तापक्ष र विपक्षीको रोहमा समान ४१/४१ जना प्रदेशसभा सदस्यहरु उपस्थित थिए । लुम्बिनी प्रदेशसभामा हाल ८३ जना सांसद छन् ।

जसमध्ये बजेट पारित गर्न बहुमत सदस्य ४२ जनाको समर्थन आवश्यक पर्छ । ६ जना सांसद रहेको जनता समाजवादी पार्टीका चारजना सांसदलाई साथ लिएर शंकर पोखरेल दोश्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

तर जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिंदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा ४१ जना सांसद देखिएका छन् । बिहीवारको बैठकमा पनि रायमाझी विपक्षीको रोहमा बसेकी थिइन् ।

प्रदेशसभामा ४१ जना सदस्य निर्वाचित रहेको एमालेका अहिले ३८ जना मात्रै सांसद छन् । दाङबाट निर्वाचित एमाले सांसद उत्तर कुमार वलीको दुर्घटनामा परी निधन भएपछि सोही क्षेत्रबाट निर्वाचित वलीकी धर्मपत्नी विमलाले माओवादी पार्टी रोजेकी छन् ।

दाङबाटै निर्वाचित एमालेका सांसद अमर डांगी र सूर्य चिन्ह लिएर कपिलवस्तुबाट निर्वाचित स्वतन्त्र सांसद दृगनारायण पाण्डेयले पनि प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए । प्रदेशसभा सदस्यबाट राजीनामा दिई नेपाली कांग्रेस प्रवेश गरेका पाण्डेय हालै भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनबाट निर्वाचित हुन् ।

यसरी सरकारको पक्षमा एमालेका ३८ र जनता समाजवादी पार्टीका ३ गरी ४१ जनाको मात्रै समर्थन देखिएको छ । उता विपक्षी गठबन्धनमा पनि नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका १ तथा एमालेकी वली गरी ४१ जना नै सांसद छन् । संसदमा मत बराबर भए सभामुखले निर्णायक मत राख्न पाउने कानुनी प्रावधान छ ।

सभामुख पूर्णबहादुर घर्ति माओवादी केन्द्रबाट निर्वाचित भएकोले उनले निर्णायक मत राख्दा बजेट पारित हुन नसक्ने देखिएपछि सत्तापक्षले बैठक बहिष्कार गरेको सहजै अनुमान गर्न सकिन्छ ।

प्रकाशित मितिः शुक्रबार, साउन १, २०७८     8:37:56 AM  |