बुटवल , लुम्बिनी प्रदेश सरकारले प्रदेशका चार कोभिड अस्पताललाई थप भत्ता दिने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीका अनुसार मन्त्रिपरिषद् बैठकले कोरोना अस्पतालमा कार्यरत कर्मचारी भत्ता थपसँगै प्रदेश राजपत्रमा शुल्क तथा दररेट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
बैठकले प्रदेशका ४ कोरोना अस्पतालमा कार्यरत कर्मचारीहरूलाई थप ५० प्रतिशत जोखिम भत्ता दिने उनले बताए । बैठकले लुम्बिनी प्रदेशको कोरोना अस्पतालमा कार्यरत ४ सय बढी करार र स्थायी कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको उनको भनाइ छ ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका चौधरीले केन्द्रीय सरकारले अग्रपंक्तिमा रहेर कोरोनाको समयमा काम गरेको भन्दै जोखिम भत्ता दिए पनि त्यसलाई यथावत् राख्दै लुम्बिनी प्रदेश सरकारले पनि जोखिम भत्ता थप गरेको जानकारी दिए ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा आएको रुपन्देही जिल्लाको जिल्ला सभा तथा जिल्ला समन्वय समितिको जिल्लास्तरीय अनुगमन तथा समन्वयसम्बन्धी कार्यविधि २०७८ लाई सहमति दिने निर्णय गरेको छ।प्रदेश तथ्यांक नियमावली, २०७८ लाई स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै मंगलबारको बैठकले घरजग्गा न्यूनतम मूल्य निर्धारण नियमावली, २०७८ लाई पनि स्वीकृत गरेको छ । प्रदेश राजपत्रमा शुल्क तथा दररेट प्रकाशन गर्न स्वीकृतिसमेत दिइएको छ।









प्रतिक्रिया दिनुहोस्