16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

भेरोनिकाले मेरो जीवन बदलिदिइन् : दिपिका पादुकोण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २९, २०७८  

सन् २०१२ मा रिलिज भएको हिट बलिउड फिल्म ‘ककटेल’ले नौ वर्ष पूरा गरेको छ। तीनजना साथीको मित्रताकाे कथा भन्ने यो फिल्मले अभिनेत्री दिपिका पादुकोणको करिअरको महत्वपूर्ण फिल्म हो।

फिल्ममा उनी सैफ अली खान र डायना पेन्टीका साथमा देखिएकी थिइन्। ‘ककटेल’ले नौ वर्ष पूरा गरेको अवसरमा दिपिकाले आफ्नो बलिउड यात्रालाई फर्केर हेरेकी छन्।

हालसम्म चालिसभन्दा बढी फिल्ममा अभिनय गरेकी उनले विभिन्न पात्रको भूमिका निभाएकी छन्। बलिउड हुँदै हलिउडसम्मका चरित्र निर्वाह गरेकी उनले आफूले निर्वाह गरेका मध्ये ‘कक्टेल’को भेरोनिका पात्र सबैभन्दा प्रिय लाग्ने बताइन्।

हिन्दुस्तान टाइम्सका अनुसार दिपिकाले ‘ककटेल’मा भेरोनिका पात्र बनेर अभिनय गरेपछि उनको फ्यान संख्या ह्वात्तै बढेको थियो। भेरोनिका त्यस्तो पात्र थिइन् जो कसैको नियममा नबाँधिएर खुल्ला चरी झै आफ्नो जीवन बिताइरहेकी हुन्छिन्, तर मीरा र गौतमको आगमनपछि भने उनको जीवन परिवर्तन हुन्छ। फिल्ममा डायना पेन्टी मीरा र सैफ अली खान गौतमको रुपमा प्रस्तुत भएका छन्।

दिपिकाले सामाजिक सञ्जालमा भेरोनिकाले करियर र व्यक्तिगत जीवनमा ठूलो परिवर्तन ल्याइदिएको भन्दै लेखेकी छन्, ‘ककटेल मेरो जीवनको ‘टर्निङ पोइन्ट’ हो। कलाकारले आफूले खेल्ने हरेक पात्रमा आफ्नो सानो अंश राखेका हुन्छन् र ती पात्रको सानो अंश पनि सधैं आफूसँगै बोकिरहन्छौं। भेरोनिका मेरो जीवनको यस्तै एउटा अंश भएकी छन्।’

हिन्दुस्तान टाइम्ससँगको अन्तर्वार्ताको क्रममा उनले भनेकी छन्, ‘यो पात्र मेरो लागि विशेष र प्यारो छ। यसले मेरो करियर त परिवर्तन भयो नै, मेरो वास्तविक जीवनमा पनि प्रभाव पारेको छ।’

सुरुमा भेरोनिका पात्रको रोल दिपिकालाई भने दिइएको थिएन। उनलाई मीराको भूमिका र डायना पेन्टीलाई भेरोनिकाको अभिनयका लागि सोचिएको थियो। भेरोनिकाको व्यक्तित्व दिपिकाको स्वभावसँग नमिल्ने भएकोले उनी आफैं मिरा पात्रको तयारी गरिरहेकी बताएकी छन्।

‘मलाई फिल्मको स्क्रिप्ट पढ्न दिँदा मेरो रोल मीरा पात्रको होला भनेर सोचेकी थिएँ र फिल्मका पटकथा लेखक इम्तियाज अलीले मलाई फेरि भेरोनिका पात्रका लागि स्क्रिप्ट पढ्न लगाए,’ उनले भनिन्, ‘त्यसपछि बल्ल मैले इम्तियाजको संकेत बुझेँ। भेरोनिकाको भूमिकामा खेल्न डर त लागेको थियो तर म यसका लागि तयार पनि थिएँ।’

दिपिकाले यो आफूले भूमिका गर्नुको श्रेय भने ‘ककटेल’का निर्देशक होमी अदजानियालाई दिएकी छन्। ‘होमीले मलाई उड्ने पखेटा दिए जसले हामी सबैको प्रिय पात्र भेरोनिका जन्मिइन्।’

दिपिका अहिले नयाँ फिल्म ‘फाइटर’ र ‘पठान’को छायांकनको तयारीमा छिन्।

प्रकाशित मितिः मङ्लबार, असार २९, २०७८     3:28:28 PM  |