दलाई लामाको जन्मदिन मनाउन नदिन लद्दाखमा चिनियाँ सैनिक पसेको दाबी



एजेन्सी ।

लद्दाखको डेमचोकमा चिनियाँ सैनिकहरू प्रवेश गरेको भारतीय अखबार द टाइम्स अफ इन्डियाले खबर दिएको छ ।

उक्त समाचारपत्रमा छापिएको खबरअनुसार, भारतमा रहेका तिब्बतीहरूले धार्मिक नेता दलाई लामाको जन्मदिन सीमावर्ती गाउँमा मनाइरहेका थिए । चिनियाँ सैनिकहरूले यसको विरोधका लागि लद्दाखको डेमचोकमा प्रवेश गरेका हुन् ।

चिनियाँ सैनिकहरू सिन्धु नदी पार गरेर भारतीय क्षेत्रमा पुगेको बताइएको छ । उनीहरूको हातमा ब्यानर र चीनका झण्डा थिए ।

उनीहरू पाँचवटा गाडीमा आएका थिए । चिनियाँ सैनिकसँगै सर्वसाधारण पनि थिए । दलाई लामाको जन्मदिन मनाएको गाउँको सामुदायिक केन्द्र नजिक उनीहरूले विरोध प्रदर्शन गरेका थिए ।

लद्दाखमा धेरैजसो बौद्ध धर्मावलम्बीहरू दलाई लामाप्रति श्रद्धा राख्छन् ।

भारतीय सेनाले यस घटनामा टिप्पणी गर्न मानेको छैन । प्रवेशको यस घटनालाई गम्भीर रूपमा लिइएको छैन, बरू यसलाई चीनले ससाना घटना गराएर उक्साउन खोजेको रूपमा हेरिँदैछ ।

डेमचोकका केही भागमा चिनियाँ सैनिकहरूले भारतीय गश्ती दललाई रोकेका थिए । भारत र चीनबीच चलिरहेको सैन्य स्तरको वार्तामा डेमचोक विवाद पनि एउटा एजेन्डा हो ।

यो ताजा घटना गत साता आइतवार डेमचोकको दक्षिणपूर्वी कुनामा रहेको ट्यांगोमा भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २९ गते मंगलबार