देशभर वर्षाको सम्भावना



कोहलपुर ।

मनसुनी वायुको प्रभावले अझै केही दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक दुई ठाँउमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताइन् ।

सोमवार वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना औंल्याएको छ ।

त्यसैले मौसम पूर्वानुमान महाशाखाले यी क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । भोली बुधवार देशभर सामान्यदेखि पूर्ण बदली भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

नेपालमा मनसुन शुरु हुने औसत मिति जुन १३ मानिएपछि यस वर्ष त्यसभन्दा तीन दिनअघि नै शुरु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २९ गते मंगलबार