कोहलपुर ।
कोरोना भाइरस (कोभिड–१९) को दोस्रो चरण फैलिएपछि बाँकेमा सञ्चालनमा ल्याइएका थप दुई कोरोना वार्ड बन्द गरिएका छन् । संक्रमणदर घटेसँगै अस्पतालमा भर्ना हुने संक्रमित विरामी घटेपछि दुई अस्पतालले सञ्चालनमा ल्याएका कोरोना वार्ड बन्द गरेका हुन् ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र युनाइटेड अस्पतालले आफुले सञ्चालनमा ल्याएका कोरोना वार्ड बन्द गरेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले जानकारी दिए । संक्रमित विरामीको संख्या घट्दै गएकाले कोहलपुर मेडिकल कलेज र युनाइटेड अस्पतालले कोरोना वार्ड बन्द गरेको उनले बताए ।
कोरोनाको दोस्रो संक्रमण सुरु भएपछि कोहलपुर मेडिकल कलेजले १ सय ३० र युनाइटेड अस्पतालले १५ बेड संक्रमितको उपचारका लागि छुट्याएका थिए । ‘केही समययता अस्पतालमा संक्रमित विरामीको चाप घटेको थियो’ जनस्वास्थ्य अधिकृत श्रेष्ठले भने, ‘विरामीको चाप घटेसँगै अहिलेलाई यहाँका अस्पतालहरुले कोरोना वार्ड बन्द गरेका हुन् ।’ अहिले गम्भीर खालका कोरोना संक्रमितहरुको भेरी अस्पतालको कोरोना वार्डमा उपचार भइरहेको छ ।
सोमवार दिउँसो सवा चार बजेसम्म भेरीको कोरोना वार्डमा ४७ कोरोना संक्रमित उपचाररत रहेका थिए । उपचाररत संक्रमितमध्ये १५ जना सिकिस्त र ३२ जनाको अवस्था सामान्य रहेको जनस्वास्थ्य अधिकृत श्रेष्ठले जानकारी दिए । भेरी अस्पतालले कोरोना संक्रमितको उपचारका लागि २ सय बेड छुट्याएको छ । तीमध्ये १ सय ५३ बेड खाली रहेको भेरी अस्पताल प्रशासनले जनाएको छ ।
वेस्टर्न अस्पताल नेपालगञ्जले छुट्याएको १६ वटै कोभिड बेड खाली रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । यी दुई बाहेक अन्य जिल्लाका सबै अस्पतालहरुले सञ्चालनमा ल्याएका कोरोना वार्ड बन्द गरिसकेका छन् । जिल्लामा रहेका कोरोना वार्डमा रहेका बेडमध्ये ८५ प्रतिशत खाली रहेका छन् । २५ प्रतिशत बेडमा मात्र संक्रमित विरामी रहेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए ।
६ थपिए, ९ डिस्चार्ज
पछिल्लो २४ घण्टामा सोमवार बाँकेका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा २ महिला र ४ पुरुषमा संक्रमण देखिएको हो । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ महिला र ४ पुरुष गरेर ५ जना तथा मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा १ महिलामा संक्रमण पुष्टि भएको थियो ।
बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा भने बाँकेमा कसैलाई संक्रमण पुष्टि नभएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको
छ । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २० पुगेको छ । तीमध्ये ७ हजार ४ सय ६१ महिला र १० हजार ५९ पुरुष रहेका छन् । सोमवार बाँकेमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ४ महिला र २ पुरुष गरेर ६ जनामा संक्रमण देखिएको थियो ।
पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना जितेर डिस्चार्ज भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । ४ महिला र ५ पुरुष कोरोना जितेर घर फर्किएका हुन् । योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेको संख्या १७ हजार १ सय ५८ पुगेको छ ।
तीमध्ये कोरोना जितेर घर फर्किनेहरुमा ७ हजार ३ सय १३ महिला र ९ हजार ८ सय ४५ पुरुष रहेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन ओलीले बताए । पछिल्लो २४ घण्टामा समेत जिल्लाका अस्पतालमा कुनै उपचाररत कोरोना संक्रमितको मृत्यु
भएको थिएन ।
अहिलेसम्म बाँकेमा जिल्ला भित्र र बाहिरी जिल्लाका गरेर ६ सय ७९ जना संक्रमितको उपचारका क्रममा मृत्यु भइसकेको छ । तीमध्ये २ सय ४४ महिला र ४ सय ३५ पुरुष रहेका छन् । सोमवारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या २१ महिला र ३४ पुरुष गरेर ५५ रहेको थियो । बाहिरी जिल्लाका संक्रमित भने २८ रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्