सरोकारवालाको गुनासोः निकुञ्जले सहकार्य गरेन



कोहलपुर ।

अब संरक्षण अभियानलाई पर्यापर्यटनसँग जोड्नुपर्नेेमा सरोकारवालाहरुले बताएका छन् । कोहलपुरमा शनिवार भएको एक कार्यक्रममा बोल्ने सरोकारवालाहरुले संरक्षणलाई पर्यापर्यटन जोडेर अब स्थानीयको आयस्तर बढाउनुपर्नेमा जोड दिएका हुन् ।

स्थानीयको सहयोगले बाँके राष्ट्रिय निकुञ्जको संरक्षणमा धेरै सफलता प्राप्त भएको भन्दै उनीहरुले अब त्यसलाई पर्यापर्यटनमा जोड्नुपर्ने बताएका थिए ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्काले निकुञ्जको संरक्षणमा मध्यवर्ती क्षेत्रका स्थानीयहरुले ठूलो साझेदारी गरेको बताए । ‘कुनै स्वार्थ बिना नै मध्यवर्ती क्षेत्रका स्थानीयले संरक्षणमा सघाउ पु¥याइरहेका छन्’ उनले भने, ‘अब संरक्षणको एउटा चरण प्रवेश गरिसकेकाले त्यहाँबाट स्थानीयहरुले फाइदा पाउनुपर्छ ।’

समस्या भोगेर भएपनि वन्यजन्तु तथा निकुञ्जको संरक्षणमा मध्यवर्ती क्षेत्रका स्थानीयहरु लागिरहेको अध्यक्ष खड्काले बताए । ‘निकुञ्जबाट आउने वन्यजन्तुले मध्यवर्तीका स्थानीयलाई दिने दुख भनेर साध्य छैन’ उनले भने, ‘स्थानीयले गरेको योगदान वाफत जनताले पाएको फल भने शून्य छ ।’ वन्यजन्तुको दिएको पिडा बिर्सिने आधार भनेको अब पर्यापर्यटन नै रहेको उनी बताउँछन् ।

वन्यजन्तु र मानिसहरुको बीचको द्धन्द्ध समेत ६५ प्रतिशतमा झरिसकेको अध्यक्ष खड्काले जानकारी दिए ।

‘पछिल्लो समयमा हामीले वन्यजन्तु र मानिस बीच द्धन्द्ध न्यूनिकरण गरिसकेका छौं’ उनले भने, ‘अब स्थानीयको आर्थिकस्तर माथि उस्कानको लागि पर्यापर्यटनमा जोड दिनुपर्छ ।’ कार्यक्रममा बोल्दै पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले जिल्लाको समृद्धिको लागि पर्यटन क्षेत्र समेत मुख्य आधार रहेको बताए ।

‘पर्यापर्यटनको लागि निकुञ्जसँग निजी क्षेत्र सहकार्य गर्न तयार रहेको छ’ उनले भने, ‘निकुञ्जमा रहेका धेरै सम्भावनालाई खोजेर धेरै पर्यटकहरु भित्र्याउन सकिन्छ ।’ निकुञ्जले वर्षभरी गर्ने कामहरुका योजनाबारे आर्थिक वर्षको सुरुमा नै निजी क्षेत्रलाई दिए सहज हुने संयोजक श्रेष्ठले बताए ।

‘सबैसँग सहकार्य गरेर अगाडि बढे पर्यापर्यटनले पक्कै फड्को मार्नेछ’ उनले भने, ‘निकुञ्जमा सोचेजस्तो गरी अझै पर्यटनका गतिविधि सुरु नहुँदा समस्या आएको हो ।’ समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा सञ्जालका अध्यक्ष कृष्ण चौधरीले निकुञ्ज तथा अन्य संघ संस्थाहरुले पर्यापर्यटन तर्फ धेरै ध्यान दिनुपर्ने अवस्था आएको बताए ।

बाँकेमा संरक्षणले सार्थकता पाइरहेको बताउँदै अब त्यसबाट प्रभावित क्षेत्रका बासिन्दाहरुले फाइदा लिने बेला आएको बताउँछन् । ‘स्थानीयहरु समेत अब संरक्षणप्रति जागरुप भइसकेका छन्’ होमस्टे सञ्चालक समेत रहेका चौधरीले भने, ‘अब स्थानीय स्तरमा पर्यटन केन्द्रित कार्यक्रम हुनुपर्छ ।’ बाँके निकुञ्ज टाइगर टुरिजमको हव समेत बन्नसक्ने उनले बताए ।

‘यहाँका प्रत्येक गाउँहरु पर्यटन मैत्री रहेका छन्’ उनले थपे, ‘पर्यापर्यटन मार्फत यहाँका गाउँको आयस्तर माथि उस्कानुपर्छ । अब यसतर्फ समेत निकुञ्जले लगानी बढाउनुपर्छ ।’ नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले निकुञ्जले आफुहरुसँग सहकार्य र समन्वय नगरेको बताए ।

‘हामीले केही वर्षदेखि बाँके बर्दियामा रहेका पर्यटकीय क्षेत्रमा आधारित रहेका काम गरिरहेका छौं’ उनले भने, ‘नजिकै रहेको निकुञ्जले भने हामीसँग सहकार्य र समन्वय नै गर्न खोज्दैन ।’ सबैको साथ सहयोग रहेमा निकुञ्जको लागि विभिन्न प्याकेज बनाएर पर्यटकहरु भित्र्याउन सकिने उनी बताउँछन् ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहाले सबैसँग सहकार्य गरेर पर्यापर्यटनको लागि काम गरिने बताए । ‘अब हामीले संरक्षण लगायतका काममा सफलता पाइरहेका छौं’ उनले भने, ‘सबैसँग सहकार्य गरेर स्थानीयहरुको आयस्तर बढाउनेगरी योजना बनाउँछौं ।’

निकुञ्जले पर्यापर्यटनको राम्रो सम्भावना बोकेको उनले दाबी गरे । अन्तरक्रियामा बाँके राष्ट्रिय निकुञ्जको सम्भावना, यहाँका रहेका चुनौती लगायतका विषयमा सरोकारवालाहरु छलफल गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २७ गते आइतबार