16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

जोखिममा नेपालकै दोस्रो लामो पुल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार २४, २०७८  

शिवु खनाल । दाङ ।

नेपालकै दोस्रो लामो महदेवा सिसहनियाँ जोड्ने बाढीका कारण जोखिममा परेको छ । गढवा महदेवा क्षेत्रतिर पुलको पुर्वी भागमा बाढीले कटान सुरु गरेसँगै पुल नै जोखिममा परेको हो । करिव १ वर्षअघि निर्माण सम्पन्न भएको पुलले दाङको गढवा र राप्ती गाउँपालिकालाई जोड्ने समेत गर्दछ ।

दक्षिण क्षेत्रमा रहेको चुरे पहाडबाट राप्ती नदीमा झर्ने मन्द्रेनी खोलाको पानी, पचाह, जेठान गाउँ र कोठरी गाउँको झरना बगेर आउने खौराह खोलाको पानीको बेगले पुलको छेउबाट कटान गर्न थालेको गढवा गाउँपालिका वडा नम्बर २ महदेवाका पुरुषोत्तम शर्माले बताए ।

‘बुधवार बिहान ६ बजेदेखि परेको अविरल वर्षातका कारण खहरे खोलामा बाढी आयो । खहरे खोलाको तिब्र बेगका कारण बिहान ९÷१० बजे तिर नवनिर्मित पुलमा नोक्सानी ग¥यो’ उनले भने । पुलको पुर्वी भाग भएर बग्ने खहरे खोलामा आएको बाढीले कटान थालेपछि पुलबाट आवतजावत गर्न रोक लगाइएको छ ।

राप्ती नदीमा रहेको पुल बाढीका कारण जोखिममा रहेको सूचना पाएपछि दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले लगायतको टोलीले स्थलगत अनुगमन समेत गरेको थियो । ‘पुल जोड्ने हुलाकी मार्गको एप्रोच बाढीले भत्काउँदा यातायात आवागमन बन्द गरिएको छ’ प्रजिअ कुरुम्वाङले भने, ‘तत्काल मर्मतको काम गर्न पुल डिभिजन नेपालगञ्जलाई अनुरोध गरेका छौं ।’ बाढीले कटान गरेको पुल छेउको भाग मर्मत नगर्दासम्म सवारी साधन सञ्चालन गर्न नसकिने उनले बताए ।

यो पुलको शिलान्यास २०७३ साल मंसिर २२ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गरेका थिए भने २०७७ असारमा सम्पन्न भएको पुलको उद्घाटन भने २०७७ माघ १२ गते प्रधानमन्त्री केपि शर्मा ओलीले गरेका थिए । पुलको लम्बाइ ८ सय ६५ मिटर र साढे ७ मिटर चौडाई रहेको छ । पुल ९२ करोड ६६ लाखमा निर्माण सम्पन्न भएको बताइएको छ ।

देउखुरी जलमग्न

लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँ जलमग्न भएका छन् । बुधवार विहानदेखि परेको वर्षाका कारण देउखुरीको लमही, राजपुर, भालुवाङ, राप्ती लगायतका विभिन्न स्थानहरु जलमग्न भएका हुन् । खहरे खोलाहरुमा बाढी पहिरो जानु र पानीको निकास नहुदा देउखुरी जलमग्न भएको हो ।

नेपालमा मनसुन सुरु भएपछि तराईमा बाढी पहाडमा पहिरो र उपत्यकाका विभिन्न स्थानहरु डुबान सुरु हुने गरेको छ । यसरी बाढी, पहिरो तथा डुबानले वर्षेनी धेरै धनजनको क्षती हुने गरेको छ । अहिले दाङसहित मुलुकभर विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । यो क्रम अझै केही दिन जारी रहने भएकाले आवश्यकता सावधानी अपनाउन दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले आग्रह गरे । ‘यो बेला ढलको निकास राम्रो नभएको ठाउँमा डुबान हुन सक्छ’ उनले भने, ‘खहरे खोलाबाट एक्कासी बाढी तथा भिरपाखा र पखेरामा पहिरो आउन सक्छ । यस क्षेत्रमा बस्ने समुदाय थप सतर्क हुनुपर्छ ।’

प्रकाशित मितिः बिहिबार, असार २४, २०७८     10:32:49 AM  |