29 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

बर्दियामा फेरी पाटेबाघले लिन थाल्यो मानिसको ज्यान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २२, २०७८  

बर्दिया ।

पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि एकजनाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–३ का ६७ वर्षका चित्रबहादुर केसीको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए ।

आइतवारदेखि हराइरहेका केसीको शव सोमवबार बिहान नेपाल भारत सीमा क्षेत्रमा पर्ने पिलर नम्बर ८३ र ८४ को बीच भागमा सम्झना सामुदायिक वनभित्र क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

बाघले आक्रमण गरेको अवस्थामा उनको शव फेला परेको डिभिजन वन प्रमुख वाग्लेले बताए ।

घरबाट दाउरा खोज्न गएका केसी आइतवारदेखि हराइरहेकोले खोजी गर्ने क्रममा नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पिलर नम्बर ८३ र ८४ को बीच भागमा सम्झना सामुदायिक वनभित्र शव फेला परेको बीओपी भग्रैया सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक अस्मित थापाले जानकारी दिए ।

बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १२ जनाको ज्यान गइसकेको बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्ज प्रशासनले मानव र वन्यजन्तुविचको बढ्दो द्धन्द्ध न्यूनीकरणका लागि प्रयास थालेको बताए पनि द्वन्द्व अझ बढ्दो अवस्थामा छ । स्थानीयलाई जंगल प्रवेश नगर्न निकुञ्जले पटक–पटक आग्रह गरे पनि स्थानीयको लापरबाहीले गर्दा वन्यजन्तुको सिकार हुने गरेका छन् ।

प्रकाशित मितिः मङ्लबार, असार २२, २०७८     1:13:28 PM  |